जनता टाइम्स

२२ बैशाख २०८३, मंगलवार १४:१७

नागरिक कालोबजारीको मारमा, सरकारको ध्यान भने अन्तै : क्षितिज थेबे 


काठमाडौं, वैशाख २२ । प्रतिनिधि समा सदस्य क्षितिज थेबेले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न तथा अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको जारी बैठकमा बोल्दै एमाले सांसद थेबेले बजारमा कालोबजारी बढ्दै गए पनि सरकार त्यसतर्फ गम्भीर नदेखिएको टिप्पणी गर्नुभयो। उहाँले उपभोक्ता संरक्षण ऐनका केही प्रावधानले एमआरपी कार्यान्वयनमा अन्यौलता सिर्जना गरेको उल्लेख गर्नुभयो।

सांसद थेबेले सीमावर्ती भन्सार नाकाहरूमा कन्टेनर थुप्रिए पनि बजारमा औद्योगिक कच्चा पदार्थको अभाव देखिएको बताउनुभयो। ‘वीरगञ्ज, भैरहवालगायतका भन्सारमा कन्टेनरहरू थुप्रिएका छन्, तर बजारमा कच्चा पदार्थ नपाउँदा आयातकर्ता मात्रै होइन, उद्योगी पनि मारमा परेका छन्,’ उहाँले भन्नुभयो।

एमआरपी कार्यान्वयनका लागि स्पष्ट वर्गीकरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले सरकारले तत्काल एमआरपी लागु हुने वस्तुको सूची सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो।

ढुवानी लागतका कारण एउटै वस्तु विभिन्न स्थानमा एउटै मूल्यमा बिक्री गर्न कठिन हुने यथार्थ औँल्याउँदै उहाँले वर्तमान व्यवस्था व्यावहारिक नभएको धारणा राख्नुभयो। ‘वीरगञ्जमा एमआरपी तोकिएको बिस्कुट ताप्लेजुङको फुङ्लिङ बजारमा पुग्दा ढुवानी खर्चले गर्दा एउटै मूल्यमा बेच्न कसरी सम्भव हुन्छ ?’ उहाँको प्रश्न थियो।

उहाँले बजार अनुगमन प्रभावकारी बनाउन, कालोबजारी नियन्त्रण गर्न तथा उपभोक्तालाई राहत दिने गरी स्पष्ट नीति ल्याउन सरकारसँग माग गर्नुभयो ।