जनता टाइम्स

२२ बैशाख २०८३, मंगलवार १५:२२

कांग्रेसका पाँच भ्रातृ संगठन स्वतः विघटन, नयाँ समिति बनाउने जिम्मा सभापतिलाई


काठमाडौं, वैशाख २२ । नेपाली कांग्रेसले पाँच भ्रातृ संगठनको केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने निर्णय गरेसँगै ती संगठन स्वतः विघटन भएका छन्।

विघटनमा पर्ने संगठनहरूमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ रहेका छन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले महाधिवेशन सम्पन्न गर्न असफल भएका कारण म्याद थप आवश्यक नरहेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो।

तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित संघका अध्यक्ष लोबहादुर विश्वकर्माले यसअघि नै राजीनामा दिइसक्नुभएको थियो। उहाँहरू तत्कालीन सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्थ्यो। पार्टी नेतृत्वमा विशेष महाधिवेशनमार्फत परिवर्तन आएपछि महाधिवेशन गर्न नसकेका अध्यक्षहरू जिम्मेवारीबाट अलग हुँदै गएको सन्दर्भमा यो निर्णय आएको हो।

यसअघि कांग्रेसले तदर्थ समिति गठन भएका भ्रातृ संगठनहरूलाई २०८१ चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। सो अवधिमा महाधिवेशन सम्पन्न नभए स्वतः पदावधि समाप्त हुने व्यवस्था गरिएको थियो। पछि २०८२ असार १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका पेश गरेका संगठनहरूलाई थप समय दिने निर्णय गरेको थियो।

यद्यपि, अधिकांश भ्रातृ संगठनहरूले तोकिएको समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्न नसकेको र आवश्यक तयारीसमेत नदेखिएकाे भन्दै म्याद थप नगर्ने निर्णय गरिएको हो। म्याद सकिएका समितिहरूले उक्त अवधिमा गरेका सबै निर्णय तथा मनोनयनहरू स्वतः अवैध हुनेछन्।

नेपाली कांग्रेसको विधानको धारा ४२(१) अनुसार अधिवेशन हुन बाँकी रहेका सबै भ्रातृ संगठनको महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी केन्द्रीय कार्यसमितिका सभापतिलाई दिइएको उल्लेख छ।

नेपाल थारु संघको हकमा भने आगामी जेठ १६ र १७ गतेका लागि महाधिवेशनको मिति तय भएकाले सो अवधिसम्मका लागि समयावधि थप गरिएको कांग्रेसले जनाएको छ।