काठमाडौं, वैशाख २३। नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले वर्तमान राजनीतिक परिस्थितिलाई लिएर कडा अभिव्यक्ति दिनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार सत्ता, सेना र जनभावनाबिचको टकरावले मुलुक पुनः उथलपुथलतर्फ जान सक्ने सङ्केत गर्नुभएको हो।
‘हातमा सम्पूर्ण सत्ता र पछिपछि शाही सेनाको लस्कर! टुलुटुलु हेरेर नबस्ने तेज आँखा रामराज्यको तीव्र सपना!’ भन्ने अभिव्यक्तिमार्फत उहाँले सत्ताकेन्द्रित प्रवृत्ति र त्यसको समर्थनमा देखिएको शक्ति संरचनाप्रति सङ्केत गर्नुभएको छ।
उहाँले तानासाही प्रवृत्तिको विरोध गर्दै जनताको भूमिका निर्णायक हुने उल्लेख गर्नुभएको छ। ‘तानासाही दमन चक्र, जनता जुरुक्क राजगद्दी समाप्त!’ भन्ने भनाइ उद्धृत गर्दै उहाँले कुनै पनि प्रकारको दमन र निरंकुशताको अन्ततः जनताबाटै प्रतिवाद हुने सन्देश दिनुभएको हो।
बास्कोटाको उक्त धारणा सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले यसलाई वर्तमान राजनीतिक घटनाक्रमप्रति चेतावनीका रूपमा लिएका छन् भने केहीले यसलाई अतिरञ्जित अभिव्यक्ति भएको टिप्पणी गरेका छन्।
हाल देशको राजनीतिक अवस्था, शासन प्रणालीप्रतिको असन्तुष्टि र विभिन्न पक्षबिच बढ्दो ध्रुवीकरणका बिच यस्ता अभिव्यक्तिहरूले थप बहस सिर्जना गरिरहेका छन्।













प्रतिक्रिया दिनुहोस्