काठमाडौं, वैशाख २३ । काठमाडौंको भेडासिंहस्थित चाँदी पसलमा पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
वैशाख १७ गते वविता रौनियारले सञ्चालन गर्नुभएको ‘नैना एण्ड इशान ज्वेलरी’ पसलमा प्रवेश गरी लुटपाट गर्न खोज्नेहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन, विकेश राजवाहक र अरुण भुजेल रहेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार महर्जनलाई मङ्गलबार इमाडोल क्षेत्रबाट पक्राउ गरिएको हो। अन्य दुई आरोपी राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आरोपी अरुण भुजेलको साथबाट घटनामा प्रयोग गरिएको पेस्तोल बरामद गरिएको छ। साथै, घटनामा संलग्न महर्जनले वारदातका क्रममा लगाएको कपडा घटनास्थल नजिकैको गल्लीबाट फेला परेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्