जनता टाइम्स

२३ बैशाख २०८३, बुधबार १५:१७

पार्टी बिभाजन रोक्न गगन थापा र पूर्णबहादुर खड्काले गरे ठोश सहमति, अब रोकिएला कांग्रेसको अधोगति ?


काठमाडौं, बैशाख २३ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा कुराकानी गरेका छन् ।

खड्का निवास गोल्फुटारमा बिहान ११ बजेदेखि मध्यान्ह साढे १२ बजेसम्म तीन नेताबीच कुराकानी भएको हो । विशेष महाधिवेशनपछि सभापति थापाले खड्कालाई भेटेको यो दोस्रो पटक हो । यसअघि सभापति थापाले वैशाख ६ गते पनि खड्कालाई निवासमै पुगेर भेटनुभएको थियो । भेटमा उपसभापति बिश्वप्रकाश शर्मा पनि हुनुहुन्थ्यो ।

खड्काका स्वकीय सचिव गौतम बीसीका अनुसार नेतात्रयबीच निकै गम्भीर ढंगले छलफल भएको छ । ‘तीन नेताबीच भएको भेटमा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति भएको छ,’ बीसीले भन्नुभयो । सभापति थापाले आफूसँग वैशाख ६ गते गरेको भेटबारे नेता खड्काले आफ्नो समूहका नेताहरूको भेलामा ब्रिफिङ गर्नुभएको थियो ।

वैशाख १५ गते स्मार्ट होटलमा भएको समूहको भेलामा खड्काले पार्टीलाई कसरी एकताबद्ध गरेर लैजाने भन्नेबारे सभापतिले सुझाव मागेको र त्यसबारे आफूले सुझाएका विषयबारे नेताहरूलाई जानकारी गराउनु भएको थियो ।

‘आधा कांग्रेस नेतृत्वको साथमा र आधा बाहिर रहेको जस्तो देखिएकाले पार्टी अहिले गुट–गुटमा विभाजित छ,’ सभापतिसँग भएको कुराकानीबारे खड्काले भन्नुभएको छ, ‘यसलाई सम्पूर्ण रूपमा एकता गर्ने वा विभाजनतर्फ लैजाने भन्ने जिम्मेवारी अब सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको काँधमा छ। त्यसबारे कसरी अगाडि बढ्ने भन्ने तपाईँहरूको योजना र रणनीतिमा भर पर्छ ।’ खड्काले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पूर्ण एकता कायम गर्न आफू तयार रहेको बताएको जानकारी पनि गराउनु भएको थियो । यो भेटमा पनि सोही अडान राख्नुभएको छ ।