काभ्रे, वैशाख २४ । वर्षाका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्गअन्तर्गत राेशी खाेलामा बगाएको डाइभर्सन मर्मतपछि सवारी आवागमन पुनः सुचारु गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले बिहीबार सूचना जारी गर्दै अवरुद्ध सडक मर्मत गरी हाललाई यातायात सञ्चालनमा ल्याइएको जनाएको हो।
प्रहरीका अनुसार वर्षापछि आएको बाढी तथा पानीको बहावका कारण राजमार्गको डाइभर्सन बगाउँदा चारदिनसम्म सवारी सञ्चालन प्रभावित बनेको थियो। मर्मत कार्य सम्पन्न भएपछि अहिले सवारी साधन आवतजावत गर्न सक्ने अवस्था बनेको जनाइएको छ।
यद्यपि सडक पूर्ण रूपमा सुरक्षित र सहज भइसकेको अवस्था नरहेकाले यात्रु तथा चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले लेन अनुशासन कायम गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा जोखिमयुक्त क्षेत्रमा सतर्क भएर यात्रा गर्न अनुरोध गरेको छ।
प्रहरीले विशेषगरी रातिको समय, वर्षा भइरहेका बेला तथा तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले संयमित यात्रा गर्न आग्रह गरेको छ। राजमार्गका केही स्थानमा सडक चिप्लो तथा कमजोर अवस्थामा रहेकाले भारी सवारी साधनका चालकलाई अझ बढी सतर्कता अपनाउन भनिएको छ।
साथै सुरक्षासम्बन्धी प्रहरीका सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न आग्रह गर्दै सम्भावित जोखिम न्यूनीकरणमा यात्रु स्वयं पनि जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ।
बीपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने महत्वपूर्ण सडक सञ्जालमध्ये एक मानिन्छ। दैनिक सयौं सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुने यस राजमार्गमा वर्षायाम सुरु भएसँगै राेशी खाेलामा आउने बाढीका कारण जाेखिममा छ ।
वर्षा सुरु भएसँगै राजमार्गका राेशीखाेला खण्डमा यात्रा जोखिमपूर्ण बनेकाे छ। विशेषगरी डाइभर्सन भएका क्षेत्र र खोल्साखोल्सी आसपासका सडकमा सामान्य वर्षाले समेत समस्या निम्त्याउने गरेको छ ।
प्रहरीले सडकको अवस्थाबारे थप जानकारी आवश्यक परेमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै यात्रा अघि मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न समेत अनुरोध गरिएको छ।













प्रतिक्रिया दिनुहोस्