काठमाडौं, वैशाख २४ । जेनजी अभियन्ता तनुजा पाण्डेले सरकारी जग्गा अतिक्रमण गरेर घर निर्माण गर्ने मन्त्री तथा सांसदहरूलाई ‘असली सुकुम्बासी’ भन्दै बालेन्द्र शाह नेतृत्वको महानगर सरकारप्रति कटाक्ष गर्नुभएको छ।
भूमिहीन तथा सुकुम्बासी बस्तीमाथि चलाइएको डोजर कारबाहीप्रति असन्तुष्टि जनाउँदै उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।
पाण्डेले गन्हाउने खोलाको किनारमा त्रिपाल टाँगेर चुहिने छानामुनि बस्ने गरिब नागरिकलाई ‘हुकुम्बासी’को संज्ञा दिइएको उल्लेख गर्दै सत्ता र पहुँचको आडमा सरकारी जग्गा अतिक्रमण गरी बहुमूल्य घर निर्माण गर्ने तथा निजी व्यापार सञ्चालन गर्नेहरूलाई भने राज्यले संरक्षण दिएको आरोप लगाउनुभएको छ।
सामाजिक सञ्जालमा नवीन तिवारीको पोस्ट सेयर गर्दै उहाँले लेख्नुभएको छ, ‘गन्हाउने खोलाको किनारमा त्रिपाल टाँगेर चुहिने छानोमा बस्ने हुकुम्बासी भए, सरकारी जग्गा हडपेर ३ तले घर बनाउने, सत्ता र पहुँचको आडमा निजी व्यापार चलाउने मन्त्री र सांसद असली सुकुम्बासी भए।’
उहाँले अहिले डोजर गरिब तथा विपन्न बस्तीमा मात्रै चलेको टिप्पणी गर्दै राज्यको कदमप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। साथै न्यायपूर्ण, उत्तरदायी र मानवीय नेपाल निर्माणको आवश्यकता औँल्याउँदै राज्यले कमजोर वर्गमाथि मात्रै कठोरता देखाउन नहुने धारणा राख्नुभएको छ । ‘त्यही भएर डोजर हुकुम्बासी बस्तीमा चलेको, न्यायपूर्ण, उत्तरदायी र मानवीय नेपालको शुभकामना,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।
पछिल्लो समय सरकारले नदी किनार तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियान तीव्र बनाएसँगै सरकारकाे आलाेचना पनि तिब्र भएकाे छ। गरिब तथा भूमिहीन बस्ती हटाउने कार्यलाई लिएर विभिन्न अभियन्ता, राजनीतिक व्यक्तित्व र सर्वसाधारणले आलाेचना गरिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्