जनता टाइम्स

२४ बैशाख २०८३, बिहीबार १२:३८

नेपालको वाम आन्दोलन संकटमा नभएको एमाले महासचिव शंकर पोखरेलको दाबी : निराशा होइन पुनर्गठन आवश्यक


काठमाडौं, वैशाख २४ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा भएको वामपन्थी हारलाई आधार बनाएर नेपालको वाम आन्दोलन संकटमा परेको निष्कर्ष निकाल्नु गलत हुने बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले केरला राज्यमा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुने इतिहास रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार अघिल्लो निर्वाचनमा मात्रै वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको अपवाद देखिएको थियो।

महासचिव पोखरेलले नेपालको वाम आन्दोलनको भविष्य कुनै एक चुनावी परिणामले निर्धारण नहुने जिकिर गर्नुभएको छ। उहाँले वामपन्थको भविष्य त्यसका भविष्यमुखी एजेण्डा, जनता र राष्ट्रहितका गतिविधि तथा जनतासँगको सम्बन्धका आधारमा तय हुने बताउनुभएको छ।

उहाँले वर्तमान राजनीतिक पराजयलाई केवल वामपन्थको हारका रूपमा नभई नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हारका रूपमा व्याख्या गर्नुभएको छ। लोकतान्त्रिक आन्दोलनको आधारका रूपमा रहेका राजनीतिक शक्तिहरूले हारको कारण खोज्नुपर्ने, त्यसको गम्भीर समीक्षा र मूल्यांकन गर्नुपर्ने तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नुपर्ने उहाँको धारणा छ।

पोखरेलले संकट र चुनौतीका बेला निराशा र पलायनवाद देखाउनु अवसरवाद र कायरताको संकेत हुने टिप्पणी पनि गर्नुभएको छ। उहाँले क्रान्तिकारी शक्तिले संकट र चुनौतीको सामना गर्दै प्रतिकूलतालाई अनुकूलतामा बदल्न सक्नुपर्ने बताउनुभएको छ।

पछिल्लो समय नेपालमा वामपन्थी दलहरूको भूमिका, जनाधार र भविष्यबारे विभिन्न राजनीतिक वृत्तमा बहस भइरहेका बेला महासचिव पोखरेलको यो अभिव्यक्ति सार्वजनिक भएको हो।