जनता टाइम्स

२४ बैशाख २०८३, बिहीबार १४:१८

तीन दिनपछि खुलेको बीपी राजमार्ग फेरि बन्द, रोशी खोलामा पानी बढेपछि यात्रु अलपत्र


काभ्रे, वैशाख २४ । तीन दिनपछि सञ्चालनमा आएको बीपी राजमार्ग बिहीबार दिउँसो पुनः बन्द गरिएको छ। रोशी खोलामा पानीको बहाव बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको जनाएको हो।

प्रहरीले दिउँसो १ः१५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै राजमार्गमा सवारी सञ्चालन रोकिएको जानकारी दिएको छ।

यसअघि वर्षाका कारण रोशी खोलाले सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो। लगातार तीन दिन बन्द रहेको राजमार्ग बिहीबार बिहान ७ बजेदेखि डाइभर्सनमार्फत सञ्चालनमा ल्याइएको भए पनि केही घण्टामै पुनः पानीको सतह बढ्न थालेपछि सुरक्षाका कारण सडक बन्द गरिएको हो।

रोशी खोलामा सामान्य बाढी आउँदा समेत अस्थायी डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ। खोलाकै बहाव क्षेत्रमा निर्माण गरिएको अस्थायी सडक सानो बाढी आउँदा पनि जोखिममा पर्ने भएकाले यात्रा अनिश्चित बन्ने गरेकाे छ ।

प्रहरीले मौसमको अवस्था र खोलामा आउन सक्ने बाढीलाई ध्यानमा राख्दै सवारी रोकेको जनाएको छ। स्थिति सामान्य भएपछि अर्को सूचना जारी गरेर पुनः यातायात सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेले उल्लेख गरेको छ।

बीपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने प्रमुख सडक सञ्जालमध्ये एक हो। दैनिक सयौँ सार्वजनिक तथा निजी सवारी सञ्चालन हुने याे सडक सममा मर्मत नहुँदा यात्रीहरुले हैरान खेप्नु परेकाे छ।

विशेषगरी काभ्रेको रोशी क्षेत्र राजमार्गकै सबैभन्दा जोखिमयुक्त खण्डमध्ये एक मानिन्छ। गत  वर्ष  र त्यसकाे अघिल्लाे वर्ष आएकाे  बाढीले क्षति पुर्‍याएको सडकखण्डको स्थायी मर्मत कार्य अझै सम्पन्न हुन नसक्दा समस्या झन् जटिल बन्दै गएको छ। अस्थायी डाइभर्सनकै भरमा यातायात सञ्चालन गर्नुपर्दा वर्षा सुरु भएसँगै सडक पटक–पटक अवरुद्ध हुने अवस्था देखिएको हो।

राजमार्ग पुनः बन्द भएपछि लामो दूरीका सार्वजनिक यातायात, मालवाहक ट्रक तथा निजी सवारी साधन काभ्रेको भकुण्डे र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएका छन्। यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

प्रहरीले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न आग्रह गरेको छ। थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।