काठमाडौं, वैशाख २४ । नेकपा एमालेका नेता महेश बर्तौलाले संवैधानिक परिषद्को पछिल्लो निर्णयप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सरकार अधिनायकवादी सोचतर्फ अघि बढिरहेको आरोप लगाउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले संवैधानिक परिषद्को निर्णयले न्यायपालिकामा स्थापित विधि, वरिष्ठताको अभ्यास र संवैधानिक परम्पराको मूल्यबारे गम्भीर प्रश्न उठाएको बताउनुभएको हो ।
प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठतम न्यायाधीशलाई बेवास्ता गरिएको विषय केवल नियुक्तिको विवाद मात्र नभई न्यायिक स्वतन्त्रता, शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तमाथिको गम्भीर प्रश्न भएको उहाँको भनाइ छ । ‘प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठतम न्यायाधीशलाई बेवास्ता गर्नु केवल एउटा नियुक्तिको विषय मात्र होइन, यो न्यायिक स्वतन्त्रता, शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तमाथिको गम्भीर प्रश्न पनि हो, जब विधिभन्दा शक्ति हाबी हुन्छ, तब संस्थामाथिको जनविश्वास कमजोर बन्दै जान्छ’, सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएकाे छ ।
उहाँले विधिभन्दा शक्ति हाबी हुँदा संस्थामाथिको जनविश्वास कमजोर बन्दै जाने उल्लेख गर्दै संवैधानिक परिषद्का सदस्यहरूले नै ‘नोट अफ डिसेन्ट’ लेख्नुले निर्णय कति विवादास्पद र अपरिपक्व थियो भन्ने स्पष्ट संकेत गरेको बताउनुभएको छ । ‘मुलुकका शीर्ष नेतृत्व सहभागी रहेको संवैधानिक परिषद्का सदस्यहरूले नै नोट अफ डिसेन्ट लेख्नुले यो निर्णय कति अपरिपक्व र विवादास्पद थियो भन्ने स्पष्ट संकेत गर्दछ, लोकतन्त्रमा अदालत सरकारको सुविधा अनुसार चल्ने संस्था होइन संविधानको रक्षा गर्ने अन्तिम भरोसा बन्नुपर्छ’, बर्ताैलाकाे धारणा छ ।
उहाँले आजको निर्णयले सरकार राज्यका सम्पूर्ण अंग र संवैधानिक निकायहरूमाथि त्रास सिर्जना गर्दै पूर्ण नियन्त्रण स्थापित गर्ने अधिनायकवादी सोचतर्फ अघि बढिरहेको आभास दिएको टिप्पणी गर्नुभएको छ । न्यायपालिका र संवैधानिक निकायहरूको स्वतन्त्रता कसरी सुरक्षित रहने भन्ने विषय अहिलेको सबैभन्दा गम्भीर चिन्ताको विषय बनेको उहाँको भनाइ छ । ‘आजको यस निर्णयले सरकार राज्यका सम्पूर्ण अंग र संवैधानिक निकायहरूमाथि त्रास र पूर्ण नियन्त्रण स्थापित गर्ने अधिनायकवादी सोचतर्फ अघि बढिरहेको आभास भएको छ। यसले लोकतन्त्र लाई नै खतराको मुखमा उभ्याएको छ यस्तो अवस्थामा न्यायपालिका र संवैधानिक निकायहरू को स्वतन्त्रता कसरी सुरक्षित रहला ? यो आजको सबैभन्दा गम्भीर चिन्ताको विषय बनेको छ’, उकाे भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्