काठमाडौं, बैशाख २५ । विदेशमा रहेका ३६ जना नेपाली चिकित्सहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयले गैरआवासीय नेपाली संघ (एनआरएनए) आक्रोशित बनेको छ ।
संघले प्रेस बिज्ञप्ति नै जारी गरेर बिदेशमा रहेका चिकित्सकको लाइसेन्स खारेजीप्रति तीब्र आक्रोश पनि पोखेको छ । प्रवक्ता सोमनाथ सापकोटाले मंगलबार एक प्रेस विज्ञप्ति प्रकासित गरेर विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा समेत नकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभएको छ ।
बिज्ञप्तिमा संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा चिकित्सकहरूको पेशागत पहिचानमाथि प्रश्न उठाउने वा खोस्ने कार्य न्यायोचित नभएको निचोड सुनाइएको छ ।यसैगरी चिकित्सा पेशा मानव सेवासँग प्रत्यक्ष सम्बन्धित संवेदनशील क्षेत्र भएकाले यस्ता निर्णयहरू गर्दा परामर्श, स्पष्ट आधार तथा प्रक्रियागत पारदर्शिता अनिवार्य रूपमा पालना गर्न पनि आग्रह गरिएको छ ।
‘सरकारले सीप हस्तान्तरणको नीति अघि सारेको अवस्थामा उच्च दक्षता भएका चिकित्सकहरूलाई नै निरूत्साहित गर्नु गलत अभ्यास हो,’ एनआरएनएले भनेको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘एक पटकको नेपाली, सधैंको नेपाली’ मूलमन्त्रलाई व्यवहारमा लागू गर्दै डायस्पोराको योगदानलाई सम्मान गर्ने र उनीहरूको सीप तथा दक्षताको उपयोग सुनिश्चित गर्ने समावेशी नीति निर्माण गर्न हामी सरकारको ध्यानाकर्षण गराउँदछौं ।’
एकतर्फी भन्दा पनि सम्बन्धित सरोकारवालाहरूसँग आवश्यक संवादमार्फत न्यायोचित, पारदर्शी र व्यावहारिक समाधान खोज्न र लाइसेन्स खारेज गरेका चिकित्सकहरूको बारेमा पुनर्विचार गर्न पनि एनआरएनएले आग्रह गरेको छ।
मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेको भन्दै वैशाख ११ गते १७ जना र वैशाख १८ गते १९ जना गरी ३६ जना चिकित्सकको लाइसेन्स खारेज गरेको सूचना गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित गरेको थियो ।














प्रतिक्रिया दिनुहोस्