जनता टाइम्स

२५ बैशाख २०८३, शुक्रबार १२:००

सरकारले अघि बढायो बिश्वबिद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया, त्रिबिसहित आठमा मागियो आवेदन


काठमाडौं, बैशाख २५ । अध्यादेश ल्याएर पदमुक्त गरेको बालेन साह नेतृत्वको सरकारले विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर विभिन्न आठ वटा विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले सूचना मार्फत त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन मागेको हो ।

विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी १० दिनभित्र आवेदन पेश गर्न भनिएको छ । वैशाख १९ गते ल्याइएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेशपछि विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारी पदमुक्त भइसकेका छन् । कतिपयले राजीनामा दिएको र कतिपय पदमुक्त भएका हुन ।