जनता टाइम्स

२५ बैशाख २०८३, शुक्रबार १९:४१

गगन थापाको खुलासा : मन्त्रीको सम्पत्तिमा व्यापक प्रश्न उठेपछि जनताको ध्यान मोड्न सुकुम्बासी बस्तीमा डोजर चलाइयो


काठमाडौं, बैशाख २५ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणबारे व्यापक प्रश्न उठेपछि सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको खुलासा गर्नुभएको छ ।

कांग्रेसले शुक्रबार आयोजना गरेको ग्रीन टेबल संवाद कार्यक्रममा सभापति थापाले सत्तारुढ दलकै मान्छेबाट पाएको सूचना भन्दै यस्तो खुलासा गर्नुभएको हो । मन्त्रीको सम्पत्ति र तत्कालीन गृहमन्त्रीको शेयर कनेक्सनलाई मोड्न सुकुम्बासी बस्तीमा डोजर चलाइएको थापाको भनाई छ ।

‘जब प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भयो, व्यापक प्रश्न उठ्यो । त्यहीबेला गृहमन्त्रीको विभिन्न कनेक्सनको कुरा आयो र राजीनामा दिने अवस्था आयो,’ थापाले भन्नुभयो, ‘एकपटक अमेरिकामा क्लिन्टन राष्ट्रपति हुँदा महिलासँगको सम्बन्धलाई लिएर हंगामा भयो, क्लिन्टन प्रशासनले त्यो घटना मोड्न क्रुज मिसाइल हानेको थियो । संसारभरका न्यूज मिसाइलतिर गए ,’ थापाले भन्नुभयो ।

सभापति थापाले अमेरिकाको उदाहरण जोड्दै थप्नुभयो, ‘ध्यान मोड्न एकैपटक डोजर चलाउने कुरा आयो, आज सिंगो देश यो विषयमा छलफल भएको छ, त्यो विषय हरायो । नेपालको मिडिया, सार्वजनिक विमर्शमा डिस्ट्र्याक्सन भयो ।’ सभापति थापाले कांग्रेसले नेतृत्व गरेको स्थानीय पालिकामा डोजर चलाउने काम गर्न नदिने प्रष्ट पार्नुभयो ।

‘भोट घट्छ भन्ने चिन्ता’ ले संघ सरकारले गरेको गल्ती प्रदेश र स्थानीय सरकारले गर्न नपाउने उहाँको भनाई छ । ‘प्रदेश र स्थानीय सरकारका साथीहरूले संघले गरेको गल्ती गर्न पाउनु हुन्न । काठमाडौंका वडाध्यक्षदेखि सबै साथीहरूलाई आग्रह छ-कोही मान्छे रिसाउला, सामाजिक सञ्जालमा ट्रोल होला भनेर आफ्नो कर्तव्य भुल्ने हो भने आफ्नो बाटो लाग्नुस्, त्यो कांग्रेसको चरित्र होइन । हाम्रो धर्म छ सत्य र न्यायको पक्षमा उभिने हो । कानुनले दिएको भन्दा बाहिर गएर डोजर चलाउने बाटो कोही पनि हिँड्नु हुन्न,’ सभापति थापाले भन्नुभयो ।