काठमाडौं, वैशाख २५ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनाेद कुमार शर्माले पदबाट राजीनामा दिनुभएकाे छ ।
बिहीबार दिउँसो उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पुगेर राजीनामा पत्र बुझाउनुभएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार दिनअघि रेडक्रसको सबै तहको निर्वाचन प्रक्रिया तत्काल रोक्न आदेश दिएपछि विकसित घटनाक्रमबीच शर्माले पद त्याग गर्नु भएकाे हाे ।
जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नआएसम्म निर्वाचन प्रक्रिया अगाडि नबढाउन केन्द्रीय कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि तदर्थ समितिभित्रै असन्तुष्टि बढेको बताइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, महिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरूले रेडक्रसको विधानले संघीयताको मर्म आत्मसात् गर्न नसकेको भन्दै नेतृत्व परिवर्तनका लागि शर्मालाई मार्गप्रशस्त गर्न सुझाव दिनुभएकाे थियाे । शर्माले भने संक्रमणकाल अन्त्य गर्दै असारभित्र निर्वाचन सम्पन्न गरेर संस्थालाई नियमित प्रक्रियामा फर्काउने उद्देश्यसहित आफूहरू सक्रिय रहे पनि सरकारले उल्टै रेडक्रसलाई थप गिजोल्ने काम गरेको बताउनु भएकाे थियाे ।
एमाले–कांग्रेस गठबन्धन सरकारले २०८२ साउन ९ गते शर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । समितिलाई तीन महिनाभित्र नयाँ कार्यसमिति चयन गर्ने जिम्मेवारी दिइएको थियो ।
यसबीच अन्तर्राष्ट्रिय रेडक्रस महासंघ ‘जेनेभा’ले समेत सुधार प्रक्रिया अघि नबढे नेपाल रेडक्रस निलम्बनमा पर्न सक्ने चेतावनी पटक–पटक दिँदै आएको थियो ।
शर्माको राजीनामासँगै नेपाल रेडक्रस फेरि नेतृत्वविहीन बनेको छ । अब संस्थालाई सुधारसहित नयाँ दिशा दिने जिम्मेवारी सरकारमाथि थपिएको विश्लेषण गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्