जनता टाइम्स

२६ बैशाख २०८३, शनिबार ०६:३७

आफ्नै सभापतिलाई न्याय दिन नसक्ने सरकारले जनतालाई के न्याय देला : हर्क साम्पाङ


काठमाडौं, वैशाख २६ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले आफ्नै सभापतिलाई न्याय दिन नसकेको भन्दै तीव्र आलोचना गर्नु भएको छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले सहकारी ठगी प्रकरणका नाइके जीबी राईलाई खोजेर ल्याउन नसक्नु सरकारको अर्को असफलता भएको टिप्पणी गर्नु भएको छ । ‘जीबी राईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको अर्को एउटा कारण हो,’ उहाँले लेख्नु भएको छ, ‘आफ्नै सभापतिलाई न्याय दिन नसक्ने सरकारले जनतालाई न्याय देला ?’

पार्टी सभापति रवि लामिछानेको नाम सहकारी ठगीमा जीबी राईसँग जोडिएको छ । राई फरार छन् भने लामिछाने मुद्दा खेपिरहेका छन् ।

सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै साम्पाङले सुकुम्वासी व्यवस्थापनको विषयमा पनि असन्तुष्टि जनाउनु भएको छ । सुकुम्वासीलाई बेघर बनाएर लजमा कष्टपूर्ण अवस्थामा राखिएको खबर आएको उल्लेख गर्दै उनले सरकारको कामकारबाहीलाई ‘लथालिङ्गे’ भएको आरोप लगाउनु भयो ।

‘सुकुम्वासीलाई बेघर बनाएर लजमा बेहाल किसिमले राखेको भन्ने आयो,’ उहाँले भन्नु भएको छ, ‘भाताभुङ्गे सरकारको लथालिङ्गे पारा ! के पारा हो यो ???’

साम्पाङको यो अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । सरकारको आलोचना गर्दै आउनु भएका उहाँले पछिल्लो समय विभिन्न सामाजिक र राजनीतिक विषयमा निरन्तर धारणा सार्वजनिक गर्दै आउनु भएको छ ।