काठमाडौं, वैशाख २७ । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिएकोप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्नुभएको छ।
शनिबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित कानुन दिवस कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँगको छोटो संवादमा उहाँले आक्रोशपूर्ण प्रतिक्रिया दिनुभएको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको छ।
कार्यक्रमपछि सञ्चारकर्मीले उहाँलाई “आमा” भनेर सम्बोधन गरेपछि कार्कीले प्रतिप्रश्न गर्दै “कसले आमा भनेको ?” भन्नुभएको थियो। सञ्चारकर्मीले आफूले भनेको बताएपछि उहाँले असन्तुष्ट भावमा, “तिमीहरूको आमा नै फेरिइसक्यो” भन्ने प्रतिक्रिया दिनुभएको भिडियोमा देखिन्छ।
त्यसपछि सञ्चारकर्मीले “तपाईं देशकै आमा हो” भन्न खोज्दा कार्कीले त्यसलाई अस्वीकार गर्दै, “अब बालेनको श्रीमतीलाई आमा भन” भन्नुभएको थियो।
कार्कीको यो अभिव्यक्तिलाई पछिल्लो समय प्रधानन्यायाधीश सिफारिस प्रकरणसँग जोडेर हेरिएको छ। उहाँले यसअघि पनि सपना प्रधान मल्ल लाई प्रधानन्यायाधीशमा सिफारिस नगरी चौथो वरीयताका मनोजकुमार शर्मा लाई अघि बढाउनु गम्भीर गल्ती भएको टिप्पणी गर्दै आउनुभएको थियो।
संवैधानिक परिषद्ले गरेको उक्त सिफारिसपछि न्यायपालिका, संवैधानिक प्रक्रिया र राजनीतिक प्रभावबारे बहस चर्किरहेका बेला कार्कीको अभिव्यक्ति थप चर्चामा आएको हो।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उहाँको अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई न्यायपालिकामाथिको राजनीतिक प्रभावप्रति असन्तुष्टिको संकेत मानेका छन् भने केहीले सार्वजनिक कार्यक्रममा प्रयोग गरिएको भाषा र शैलीप्रति प्रश्न उठाएका छन्।












प्रतिक्रिया दिनुहोस्