जनता टाइम्स

२७ बैशाख २०८३, आईतवार ०९:४४

जिल्ला समितिहरु विघटनको तयारीमा रास्वपा, आज साँझ सचिवालय बैठक


काठमाडौं, वैशाख २७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने बैठकमा संगठनात्मक पुनर्संरचना देखि अनुशासनात्मक कारबाहीसम्मका महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ ।

पार्टीभित्र पछिल्लो समय संगठन विस्तार, आन्तरिक व्यवस्थापन र आगामी राजनीतिक कार्यक्रमलाई लिएर भइरहेका बहसका बीच बोलाइएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी जिल्ला समिति विघटनसम्बन्धी तयारीलाई लिएर बैठकप्रति नेताकार्यकर्ताको चासो बढेको छ ।

बैठकमा पार्टीको भेला तथा अधिवेशन सम्बन्धी विशेष तालिकामाथि छलफल हुने जनाइएको छ । आगामी संगठनात्मक अभियानलाई व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न तहका संरचना पुनर्गठनको विषय पनि बैठकको प्राथमिकतामा परेको बताइएको छ ।

यस्तै, पार्टीका आयोग तथा विभागहरूमा पदाधिकारी मनोनयन गर्ने विषयमा पनि सचिवालयमा छलफल हुने तयारी छ । संगठनलाई सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले जिम्मेवारी बाँडफाँटलाई अघि बढाइने स्रोतले जनाएको छ ।

रास्वपाले जिल्ला समिति विघटनसम्बन्धी निर्णय पनि यही बैठकबाट गर्ने तयारी गरेको बताइएको छ । पार्टी संरचनालाई नयाँ ढंगले व्यवस्थित गर्ने रणनीतिअनुसार यो विषयलाई बैठकको महत्वपूर्ण एजेन्डाका रूपमा राखिएको छ ।

यसका साथै अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक आह्वान तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने जनाइएको छ । पार्टीभित्रको गतिविधिलाई थप व्यवस्थित र अनुशासित बनाउने दिशामा सचिवालय बैठकले महत्वपूर्ण निर्णय लिने बताइएकाे छ ।