कैलाली, वैशाख २७ । नेपाली कांग्रेसभित्र सुदूरपश्चिममा चुलिएको सरकार परिवर्तनको बहस तत्कालका लागि रोकिएको संकेत देखिएको छ । पार्टी सभापति गगन थापाले मुख्यमन्त्री परिवर्तनको विषय अहिलेको प्राथमिकता नभएको स्पष्ट पारेपछि कमलबहादुर शाह नेतृत्वको सरकारलाई तत्काल राहत मिलेको छ ।
धनगढीमा कांग्रेसका प्रदेश सांसद, मन्त्री र नेताहरूसँग भएको आन्तरिक छलफलमा अधिकांश सांसदहरूले मन्त्री बन्ने आकांक्षा राखेका थिए । कतिपयले प्रत्यक्ष रूपमा आफूलाई सरकारमा समेट्न माग गरे भने केहीले घुमाउरो शैलीमा असन्तुष्टि पोखेका थिए ।
छलफलमा सहभागी नेताहरूका अनुसार मुख्यमन्त्री शाहप्रति बाहिर आलोचनात्मक देखिएका केही सांसदहरूले समेत बैठकभित्र भने शाहलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए । उनीहरूको मुख्य चासो सरकार परिवर्तनभन्दा पनि आफूहरूलाई मन्त्री बनाउने विषयमा केन्द्रित देखिएको थियो ।
सांसदहरूले बजेट वितरणमा विभेद भएको गुनासोसमेत गरेका थिए । मन्त्री भएकै क्षेत्रमा मात्रै बजेट केन्द्रित हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवाज उठाइएको थियो । केही सांसदहरूले आफूहरूको क्षेत्र उपेक्षामा परेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
छलफलका क्रममा मुख्यमन्त्री शाहले पनि पार्टीभित्र आफ्नो नेतृत्वविरुद्ध भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउनु भएकाे थियाे । यद्यपि अन्तिममा सभापति थापाले ‘अहिले सरकारबारे निर्णय गर्ने बेला नभएको’ स्पष्ट सन्देश दिएपछि सरकार परिवर्तनको बहस तत्कालका लागि सेलाएको बुझिएको छ ।
थापाको अभिव्यक्तिपछि कांग्रेसभित्र मुख्यमन्त्री फेर्ने अभियान कमजोर बनेको आकलन गरिएको छ । पछिल्लो समय सुदूरपश्चिम कांग्रेसभित्र देखिएको शक्ति संघर्ष अहिले पनि पद र भागबण्डाकै वरिपरि घुमिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्