काठमाडौं, बैशाख २८ । संसदको तेस्रो ठूलो दल नेकपा एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै कडा आपत्ति जनाएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै एमाले सचिव तथा सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेश र अध्यादेश कार्यान्वयन गर्दैगर्दा प्रधानन्यायाधीश सिफारिसको विषयले स्थापित मान्यताको धज्जी उडाएको बताउनु भयो ।
‘अध्यादेश र प्रधानन्यायाधीश सिफारिसको विषयले स्थापित मान्यताको धज्जी उडायो, बिधिको शासनको धज्जी उडायो,’ अर्यालले भन्नुभयो । उहाँले न्यायपालिका प्रमुख प्रधानमन्त्रीको खल्तीबाट छान्ने र सधै पकेटमा राख्ने कुरा लोकतन्त्रमा स्वीकार्य नहुने र लोकतन्त्रको चरित्रअनुरुप पनि नहुने बताउनु भयो ।
‘न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले होइन, प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य सिर्जना गरिंदैछ, यो बडो बिडम्बनापूर्ण र खतरनाक कुरा हो,’ उहाँले भन्नुभयो । उहाँले आफ्ना निर्णयमाथि उठ्ने प्रश्नहरूबाट भाग्न खोजेको कायरताको प्रमाण अध्यादेश हो ? भन्दै सरकारमाथि प्रश्नसमेत गर्नुभएको छ ।
‘संसद् आह्वान भइसकेपछि त्यसलाई स्थगन गर्दै अध्यादेश ल्याउन सरकार आफ्ना निर्णयमाथि उठ्ने प्रश्नहरूबाट भाग्न खोजेको कायरताको प्रमाण हो रु यो अध्यादेशको शृङ्खला यतिमै रोकिन्न,’ अर्यालले भन्नुभयो, ‘अध्यादेशको कार्यान्वयनसँगै प्रधानन्यायाधीश सिफारिस जसरी गरियो, त्यसले इतिहासमै पहिलोपटक स्थापित मान्यताको धज्जी उडाएको छ ।’













प्रतिक्रिया दिनुहोस्