काठमाडौं, वैशाख २९ । प्रतिनिधिसभामा आज संसदीय मर्यादा र राजनीतिक शिष्टाचारको विषयले प्रवेश पाएको छ । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै बेला प्रधानमन्त्री सदनबाट बाहिरिएको घटनालाई लिएर नेपाली कांग्रेसले कडा आपत्ति जनाएको हो ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको व्यवहार संसदीय परम्परा र लोकतान्त्रिक संस्कारअनुकूल नभएको बताउनुभयाे । उहाँले हिजोको दृश्यलाई ‘लोकतान्त्रिक संसदीय इतिहासमै विरलै देखिने घटना’ को संज्ञा दिँदै प्रधानमन्त्रीले सदन र राष्ट्रपतिको गरिमाप्रति संवेदनशीलता देखाउन नसकेको टिप्पणी गर्नु भयाे । ‘राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री उठेर बाहिरिनु सामान्य घटना होइन,’ उहाँले भन्नुभयाे ।
उहााले लोकतान्त्रिक व्यवस्थामा पदभन्दा मर्यादा र जनविश्वास ठूलो विषय हुने उल्लेख गर्दै राज्यका उच्च पदमा रहेका व्यक्तिबाट अझ बढी जिम्मेवार व्यवहार अपेक्षित हुने धारणा राख्नु भयाे। प्रधानमन्त्रीको गतिविधिले संसद्को गरिमा र संवैधानिक प्रक्रियामाथि नै प्रश्न उठाएको उहाँको भनाइ छ ।
कांग्रेसले यस घटनालाई केवल औपचारिक त्रुटिका रूपमा नलिई राजनीतिक सन्देश र संसदीय संस्कृतिसँग जोडिएको विषयका रूपमा व्याख्या गरेको छ । याे संसदीय व्यवस्थाकै उपहास भएकाे उहाँकाे धारणा छ ।













प्रतिक्रिया दिनुहोस्