जनता टाइम्स

२९ बैशाख २०८३, मंगलवार १४:२८

लोकतन्त्र बन्द कोठाको शासन होइन, यो खुल्ला र सरल प्रक्रिया हो : भीष्मराज आङ्देम्बे


काठमाडौं, वैशाख २९ । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले लोकतान्त्रिक मूल्य र संसदीय परम्परामाथि आघात पुर्‍याउँदै शासन सञ्चालन गरिरहेको बताउनुभएकाे छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले वर्तमान अधिवेशन नै ‘असामान्य परम्परा’ अनुसार सुरु गरिएको टिप्पणी गर्नुभयो । बोलाइसकिएको संसद् अधिवेशन रोकेर अध्यादेशमार्फत कानुन ल्याइएको भन्दै उहाँले त्यसलाई लोकतन्त्रमाथिको प्रहारका रूपमा व्याख्या गर्नुभयो । ‘लोकतन्त्र बन्द कोठाको शासन होइन, यो खुल्ला र सरल प्रक्रिया हो,’ उहाँले भन्नुभयो, ‘संसद्, जनप्रतिनिधि र नागरिकको आवाजलाई बेवास्ता गरेर शासन चलाउने प्रवृत्ति लोकतान्त्रिक संस्कारविपरीत छ ।’

उहाँले सरकारलाई रचनात्मक काममा सहयोग गर्न विपक्षी दल तयार रहेको स्पष्ट पार्दै संसद्मा सरकारको उपस्थिति र जबाफदेहिता कमजोर बनेको बताउनुभयाे। ‘सरकार संसद्मा देखिनुपर्ने हो, सामाजिक सञ्जालमा होइन,’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस ठूला गफ गर्ने तर परिणाम नदिने प्रवृत्तिलाई स्विकार्दैन ।’

आङ्देम्बेले आगामी दिनमा सदनमा जनप्रतिनिधिहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ सरकारले दिने अपेक्षा आफूहरूको रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय सुकुम्वासी बस्तीमा गरिएको डोजर कारबाहीप्रति पनि कडा असन्तुष्टि जनाउनुभयो । बालबालिका, वृद्धवृद्धा र सुत्केरीसम्मलाई घरबाट निकालेर सडकमा पुर्‍याइएको भन्दै उहाँले सरकारको कदम अमानवीय भएको टिप्पणी गर्नुभयो । ‘नागरिकलाई आतंकित बनाएर बोल्न नसक्ने बनाइएको छ,’ उहाँले भन्नुभयो, ‘सरकार यमदूतजस्तो बन्नु हुँदैन भन्ने हाम्रो धारणा हो ।’

उहाँले सरकार सामन्तवादको दिशामा अघि बढिरहेको बताउँदै संघ–संस्थामाथि समेत डोजर चलाउने प्रवृत्ति बढेको बताउनुभयो ।

गृहमन्त्रीमाथि लागेको आरोपको छानबिन नभएको विषय उठाउँदै उहाँले सरकारको नियतमाथि प्रश्न समेत गर्नुभयो । ‘अरूलाई भ्रष्टाचारी भन्ने सरकारले आफ्नै गृहमन्त्रीमाथि लागेको आरोपको छानबिन किन गर्दैन ?’ उहाँले प्रश्न गर्नुभयो ।