जनता टाइम्स

२९ बैशाख २०८३, मंगलवार १४:४९

नीति तथा कार्यक्रमकै बेला प्रधानमन्त्री बाहिरिनु गिनिज बुकमा लेखिने रेकर्डजस्तो भयो : भिष्मराज आङ्देम्बे


काठमाडौं, वैशाख २९ । प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री सदनबाट बाहिरिएको घटनालाई लिएर कडा टिप्पणी गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो दृश्य विश्व संसदीय इतिहासमै असामान्य भएको दाबी गर्नुभयो । ‘आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेस भइरहँदा संसारको कुनै पनि प्रधानमन्त्री बिचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमनन्त्रीको नाम लेखिने भएको छ, यस्तो रेकर्ड राख्न लागेकोमा अब  म उहाँलाई बधाइ दिउँ कि दुख प्रकट गरौँ ?’, उहाँले प्रश्न गर्नुभयाे ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति पनि उहाँले चासो व्यक्त गर्नुभयो । प्रधानमन्त्री अचानक बाहिरिनुको कारण स्वास्थ्य समस्या भए त्यसबारे संसद्लाई जानकारी गराउनुपर्ने उहाँको माग थियो । ‘यदि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति गम्भीर भएर बाहिरिनुभएको हो भने स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइयोस्,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री अब कुनै एक दलको मात्र होइन, सबैको प्रधानमन्त्री हो, त्यसैले उहाँको स्वास्थ्यप्रति हामीलाई पनि चिन्ता छ ।’

उहाँले सत्ता सञ्चालनको दबाबले प्रधानमन्त्रीको मनोस्थिति अस्थिर भएको हुनसक्ने टिप्पणी गर्दै हिजोको व्यवहारले मुलुकको प्रतिष्ठामाथि आघात पुगेको दाबी गर्नुभयो । ‘सत्ताको भारी सोचभन्दा ठूलो भएकोले युवा प्रधानमन्त्रीको मन स्थिर नभएको हुनसक्छ,’ उहाँले भन्नुभयो, ‘हिजोको व्यवहारले देशको शिर झुकेको छ, देशमा दाग लागेको छ ।’

आङ्देम्बेले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउनुभयो । संसद्को गरिमा जोगाउन सभामुख प्रभावकारी बन्न नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीको अनुपस्थितिका कारण संसदीय समितिका बैठकहरू समेत प्रभावित भएको उहाँको भनाइ थियो । ‘प्रधानमन्त्रीको अनुपस्थितिले संसदीय समितिका बैठक रोकिएका छन्,’ उहाँले भन्नुभयो, ‘देश अहिले अनिर्णयको बन्दी बनेको छ ।’