काठमाडौं, वैशाख २९ । नेकपा संसदीय दलका नेता एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा नयाँ शक्ति र नयाँ अनुहारहरूको प्रवेशलाई लोकतान्त्रिक परिवर्तनको निरन्तरतासँग जोड्दै आफूलाई त्यस्ता उपलब्धि ‘आफ्नै जितजस्तो’ लाग्ने बताउनुभएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह प्रधानमन्त्री बनेको बन्दा पनि त्यसलाई परिवर्तन र क्रान्तिको उपलब्धिका रूपमा हेर्ने गरेको धारणा राख्नुभयो । ‘बालेन्द्र साह काठमाडौं मेयर हुँदै प्रधानमन्त्री बन्नुभएको छ मलाई लाग्छ, त्यो क्रान्तिकै संकल्पको जित हो,’ उहाँले भन्नुभयो, ‘पार्टी फरक हुन सक्छ, तर परिवर्तनको भावना साझा हुन्छ ।’
उहाँले आफूलाई परम्परागत राजनीतिक दलका नेताभन्दा फरक शैलीको नेता भएको दाबी समेत गर्नुभयो । उहाँले आफू अन्य पुराना दलजस्तो नेता पुरानो दलकै नयाँ नेता भएकाे दाबी गर्नुभयाे ।
संविधान संशोधनको विषयलाई हल्का रूपमा लिन नहुने उल्लेख गर्दै उहाँले यसमा सरकार, राजनीतिक दल र सबै सरोकारवालाहरू गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । संविधानसँग जोडिएका विषयले देशको राजनीतिक दिशा निर्धारण गर्ने भएकाले त्यसलाई सहमति र जिम्मेवारीका साथ अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
प्रचण्डले पछिल्लो समय सुकुम्वासी बस्तीमा भएको डोजर कारबाहीप्रति पनि आपत्ति जनाउनुभयो । लोकतन्त्रमा समेत नागरिकका घर भत्काइने काम भएको भन्दै उहाँले सरकारको शैली पञ्चायती निरंकुशताको झल्को दिने खालको रहेको टिप्पणी गर्नुभयो ।
‘सरकारका कामले निरंकुश पञ्चायतको झल्को दिइरहेको छ,’ उहाँले भन्नुभयो, ‘गरिब सुकुम्वासी विकासका बाधक होइनन् । उनीहरूलाई जबरजस्ती उठिबास लगाउने होइन, व्यवस्थित रूपमा व्यवस्थापन गर्नुपर्छ ।’
उहाँले नागरिकलाई आफ्नो आवाज उठाउनबाट कसैले वञ्चित गर्न नहुने बताउँदै विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको पनि आलोचना गर्नुभयो ।
लोकतन्त्रको मूल मर्म नै नागरिक स्वतन्त्रता र सहभागिता भएको उल्लेख गर्दै उहाँले असहमति र विरोधका आवाज दबाउने प्रयासले लोकतान्त्रिक प्रणाली कमजोर हुने चेतावनी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्