जनता टाइम्स

२९ बैशाख २०८३, मंगलवार १६:०१

सरकारले भूमिहीन र सुकुम्बासीमा आशा र विश्वास जगाएको छ : गणेश पराजुली


काठमाडौं, वैशाख २९ । प्रतिनिधि सभामा रास्वपा संसदीय दलक उपनेता गणेश पराजुलीले सरकारले भूमिहीन, सुकुम्बासी र नदी किनारमा बसोबास गरिरहेका नागरिकलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताउँदै त्यसमा अवरोध नगर्न आग्रह गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले वास्तविक भूमिहीन र सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको अभियानप्रति अनावश्यक विरोध भइरहेको टिप्पणी गर्नुभयो । सबै भूमिहीन, सुकुम्बासी र नदी किनारमा बसेका नागरिकलाई सरकारले व्यवस्थित गराउन खोज्दा राेइलाे भएकाे उहाँले बताउनुभयाे । उहाँले विगतमा काठमाडौं महानगरपालिकाले अव्यवस्थित बस्ती हटाउन खोज्दा पुराना राजनीतिक दलहरूले अवरोध सिर्जना गरेको आरोप पनि लगाउनुभयो ।

अहिले भने सरकारले वास्तविक भूमिहीन र सुकुम्बासीमा आशा र विश्वास जगाउने काम गरेको उहाँको दाबी थियो । ‘आज सरकारले वास्तविक भूमिहीन र सुकुम्बासीमाथि आशा र विश्वास जगाएको छ’, उहाँले भन्नुभयाे ।

पराजुलीले राज्यका विभिन्न संरचनामा रहेको दलगत प्रभाव अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको जिकिर गर्नुभयो । नेपाली जनतालाई छिटो न्याय र सेवा दिन अध्यादेश आवश्यक परेको उहाँको भनाइ थियो । ‘सबै संरचनामा भएको दलियकरण अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको हो,’ उहाँले भन्नुभयो, ‘नेपाली जनतालाई न्याय दिन सरकारले अध्यादेशमार्फत काम अघि बढाएको हो ।’

उहाँले नयाँ पुस्ताको नेतृत्वमाथि अविश्वास नगर्न पनि आग्रह गर्नुभयो । ‘यो पुस्तामाथि शंका नगर्नुस्,’ उहाँले भन्नुभयो, ‘जनताले यो पुस्तामाथि विश्वास गरेका छन् ।’

न्यायालयप्रति जनताको भरोसा कायम रहेको उल्लेख गर्दै उहाँले केही न्यायाधीशका निर्णयले भने प्रश्न उठाएको टिप्पणी गर्नुभयो । ‘न्यायालयमाथि नेपाली जनताले विश्वास गरेका छन्,’ उहाँले भन्नुभयो, ‘तर दलिय कोटाबाट नियुक्त भएका न्यायाधीशहरूको केही निर्णयले लाज पनि लजाएको छ ।’