जनता टाइम्स

२९ बैशाख २०८३, मंगलवार १६:४२

सरकारलाई एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’का प्रश्नैप्रश्न


काठमाडौं, वैशाख २९ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले सरकारको नीति तथा कार्यक्रममाथि तीखा प्रश्न उठाउँदै राष्ट्रिय सुरक्षा, लोकतान्त्रिक अधिकार, आर्थिक नीति र संसदीय मर्यादासँग सम्बन्धित विषयमा सरकारको जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गर्नुभएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकार मात्र होइन, केही संवेदनशील विषयमा नेपाली सेनाको भूमिकाप्रति समेत प्रश्न उठाउनुभयो। सरकारका प्राथमिकता र मौनतामाथि एकपछि अर्को प्रश्न गर्दै उहाँले नीति तथा कार्यक्रमले जनचासोका महत्वपूर्ण विषयहरूलाई बेवास्ता गरेको आरोप लगाउनुभयो।

राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय उठाउँदै उहाँले ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोही प्रवृत्ति’प्रति सरकारको नीति तथा कार्यक्रम किन मौन रहेको भनी प्रश्न गर्नुभयो।   ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ ?’, उहाँले भन्नुभयाे ।

यस्तै, मुलुक संकटमा पर्दा र आफ्नै परमाधिपतिको मुख्यालयमाथि धावा बोलिँदा पनि नेपाली सेना किन मूकदर्शक बनेको भन्दै उहाँले गम्भीर जिज्ञासा व्यक्त गर्नुभयो।

सीमा सुरक्षाको प्रसंग जोड्दै उहाँले लिपुलेकमा अतिक्रमण हुँदा मौन देखिएको सेना अहिले सुकुम्बासी बस्तीमा किन परिचालित भइरहेको छ भन्ने प्रश्न पनि गर्नुभयो। ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ? ’ उहाँले प्रश्न गर्नुभयो।

विदेश नीतिको प्रसंगमा उहाँले असंलग्नताको सिद्धान्तमाथि प्रश्न उठेको दाबी गर्दै सशस्त्र गतिविधिहरू र बाह्य प्रभावप्रति सरकार किन मौन छ भन्ने जिज्ञासा राख्नुभयो।

लोकतान्त्रिक अधिकारको विषयमा पनि उहाँले सरकारलाई घेराबन्दी गर्नुभयो। विद्यार्थी, शिक्षक, कर्मचारी र विभिन्न पेशागत समूहहरूको संगठित हुने मौलिक अधिकार कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाउँदै नीति तथा कार्यक्रम यसबारे मौन किन रहेको भनेर प्रश्न गर्नुभयो।

आर्थिक नीतिमाथि कटाक्ष गर्दै उहाँले ऋण लिएर विकास सम्भव छैन भन्ने राजनीतिक भाष्य प्रस्तुत गर्नेहरूले सरकार गठनलगत्तै अर्बौं रुपैयाँ ऋण स्वीकृत गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभयो। ‘ऋण लिएर विकास हुँदैन भन्नेहरू सरकारको पहिलो बैठकबाटै अर्बौं ऋण किन स्वीकृत गर्छन् ?’ उहाँले प्रश्न गर्नुभयो।

शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रको स्वायत्ततामाथि हस्तक्षेप भइरहेको उल्लेख गर्दै उहाँले नियमनको नाममा स्वतन्त्र संस्थाहरूको अधिकार खोसिने काम भइरहेको आरोप लगाउनुभयो।

संसदीय मर्यादाको प्रसंगमा उहाँले प्रतिनिधिसभाको आचरणप्रति पनि असन्तुष्टि जनाउनुभयो। सदनमा बारम्बार देखिने असभ्य र अराजक व्यवहारप्रति सभामुख किन प्रभावकारी बन्न नसकेको भन्दै उहाँले प्रश्न उठाउनुभयो। ‘सुशासन, सुसंस्कार र संसदीय संस्कृतिको नमुना बन्नुपर्ने प्रतिनिधिसभामा असभ्य र अराजक आचरण दोहोरिँदा सम्मानित सदन र सभामुख किन लाचार र नतमस्तक देखिन्छन् ?’ उहाँले भन्नुभयो।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बादलले उठाएका यी प्रश्नहरूले संसद्मा सत्ता पक्षलाई थप दबाबमा पार्ने देखिएको छ। उहाँका प्रश्नहरूले राष्ट्रिय सुरक्षा, लोकतान्त्रिक अधिकार र सरकारको प्राथमिकताबारे व्यापक बहस सुरु गराउने संकेत समेत दिएका छन्।