काठमाडौं, वैशाख २९ । एमाले महासचिव शंकर पोखरेलले निर्वाचनमा भएको हारलाई निराशाको कारण नभई नयाँ सङ्कल्प र पुनर्गठनको अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले संगठनले हारबाट शिक्षा लिएर अझ सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा हरेक वर्ष स्मृति दिवस मनाउने परम्परा रहेको उल्लेख गर्दै यस वर्ष पनि देशभर रचनात्मक कार्यक्रम सञ्चालन गर्न पार्टी कार्यालयले सर्कुलर जारी गरिसकेको जानकारी दिनुभयो ।
‘निर्वाचनमा हारको पीडा नभए माथि उठ्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘तर हारलाई निराशामा बदल्न दिनु हुँदैन । त्यसलाई सङ्कल्पमा बदल्नुपर्छ ।’
महासचिव पोखरेलले पार्टी कमिटी र जनसंगठनहरूलाई पुनः जनविश्वास जित्ने लक्ष्यसहित सक्रिय रूपमा काम गर्न निर्देशन दिनुभयो । ‘हरेकले फेरि जित्न सक्छन्,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि स्पष्ट सङ्कल्प, निरन्तर सक्रियता र संगठनात्मक एकता आवश्यक छ ।’
उहाँले पछिल्लो निर्वाचन परिणामलाई कुनै एक दलको मात्र पराजयका रूपमा नहेर्न आग्रह गर्दै यो मुलधारका सबै राजनीतिक शक्तिका लागि चुनौती बनेको टिप्पणी गर्नुभयो । ‘यो केवल एउटा दलको हार होइन,’ उहाँले भन्नुभयो, ‘यो नेपालका मूलधार राजनीतिक दलहरूमाथि आएको साझा चुनौती पनि हो ।’
पार्टीभित्र विभिन्न समय र परिस्थितिमा चिन्ता, बहस र तरंग आउनु स्वाभाविक भएको उल्लेख गर्दै उहाँले संगठनलाई नियमित गतिविधि र जनसम्पर्कमा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले निराशालाई आशामा बदल्ने जिम्मेवारी संगठनकै काँधमा रहेको बताउँदै आन्तरिक विषय सार्वजनिक बहसको विषय बनाउँदा समाधानभन्दा बढी नकारात्मकता फैलिने चेतावनी दिनुभयो । ‘पार्टीभित्रका विषय बाहिर छलफल गर्दा समाधानभन्दा बढी निराशा बढ्छ,’ उहाँले भन्नुभयो, ‘सुझाव र असन्तुष्टि पार्टी संरचनाभित्रै राख्नुपर्छ ।’
कार्यक्रममार्फत जनतामा जाने सन्देश महत्वपूर्ण हुने भएकाले सबै तहका कमिटी र जनसंगठनलाई रचनात्मक तथा जनमुखी गतिविधिमा केन्द्रित हुन उहाँले निर्देशन दिनुभयो ।
बैठकमा भानुभक्त ढकाल, डा. राजन भट्टराई लगायत विभिन्न जनसंगठन तथा पार्टी कमिटीका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्