काठमाडौं, वैशाख ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपरासी पश्चिम जिल्ला कमिटी सचिव धिरज शर्मा बस्यालले पार्टीको साधारण सदस्यता तथा सबै जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको छ ।
नवलपरासी पश्चिम जिल्ला कमिटीलाई सम्बोधन गर्दै उहाँले पार्टी सदस्यता त्यागसम्बन्धी निवेदन बुझाउनुभएको हो । निवेदनमा उहाँले लामो समयदेखि पार्टीको विचार, सिद्धान्त, संगठन र आन्दोलनप्रति समर्पित भएर विभिन्न जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्नुभएको छ । पार्टी निर्माण, संगठन विस्तार, जनताको हकहितको संघर्ष तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो महत्वपूर्ण समय खर्चिएको उहाँको भनाइ छ ।
तर पछिल्लो समय पार्टीभित्र विकसित कार्यशैली, सिद्धान्त र व्यवहारबीच असन्तुलन देखिएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा इमानदार कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुन नसकेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको छ ।
उहाँले संगठनभित्र रहेर आफ्ना धारणा र सुझाव पटक–पटक राख्ने प्रयास गरे पनि अपेक्षित सुधार र आत्मसमीक्षा हुन नसकेको अनुभूति भएको उल्लेख गर्नुभएको छ । ‘राजनीति मेरो लागि केवल पद, प्रतिष्ठा वा अवसरको माध्यम मात्र नभई समाज परिवर्तन र जनसेवाको अभियान थियो,’ निवेदनमा उल्लेख गर्दै उहाँले वर्तमान परिस्थितिमा आत्मसम्मान, वैचारिक निष्ठा र राजनीतिक मूल्य–मान्यता जोगाउन सदस्यता त्याग गर्नु उपयुक्त निर्णय भएको बताउनुभएको छ ।
बस्यालले आजकै मितिदेखि लागू हुने गरी एमालेको साधारण सदस्यता सहित पार्टीसँग रहेका सम्पूर्ण जिम्मेवारी तथा आवद्धताबाट अलग हुने निर्णय गरेको जानकारी गराउनुभएको छ ।
उहाँले पार्टीमा रहँदा सहकार्य गर्ने नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि राष्ट्र, लोकतन्त्र र जनताको हितका पक्षमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आफूले अवसर नपाएकाे भन्दै पार्टी छाडेका बस्याल बस्याल बर्दघाट नगरपालिकाको निवर्तमान नगर प्रमुख समेत हुनुहुन्छ । उहाँ अहिले पनि नेकपा एमालेको जिल्ला सचिव हुनुहुन्थयाे । उहाँ अवसरकाे खाजीमा रास्वपा प्रवेश गर्ने तयारी रहेको बुझिएकाे छ ।













प्रतिक्रिया दिनुहोस्