काठमाडौं, वैशाख ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताउनुभएको छ ।
श्रीकृष्ण प्रणामी मन्दिर एकाइ सेवा समितिद्वारा मधुवन–४ ढोढरी, बर्दियामा आयोजित ८ औँ वार्षिकोत्सव तथा गुरु श्यामदासजीको ३२ औँ वार्षिक पुण्य तिथिको कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले समाज रूपान्तरण, वैरभावको अन्त्य तथा सकारात्मक सिद्धान्तलाई जनस्तरसम्म पुर्याउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले अहिले समाज विकृति र विसङ्गतितर्फ उन्मुख हुनुमा धर्म, संस्कृति र नैतिक शिक्षाबाट टाढिनु मुख्य कारण रहेको उल्लेख गर्नुभयो । ‘हामीले धर्म भुल्यौँ, संस्कृतिको नास गर्यौँ । पुर्खाहरूले अवलम्बन गरेका राम्रा कुरालाई नराम्रो देख्न थाल्यौँ,’ उहाँले भन्नुभयो, ‘नैतिक शिक्षालाई च्यात्दा गर्व गर्न थाल्यौँ, संस्कृतिको किताब च्यात्दा आफूलाई ठुलो क्रान्तिकारी ठान्यौँ, त्यसैको परिणाम आज मुलुक अराजकतर्फ उन्मुख भएको छ ।’
मुख्यमन्त्री आचार्यले समाजलाई पुनः नेपालीपनसँग जोड्न आवश्यक रहेको बताउँदै एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले पनि त्यसको पीडा महसुस गर्ने सामाजिक संस्कार पुनःस्थापना गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले योग र आराधनाबाट स्वस्थ समाज निर्माण गर्न सकिने उल्लेख गर्दै सङ्घीयतापछिको परिवर्तनलाई वस्तुगत ढङ्गले मूल्यांकन गर्न आग्रह गर्नुभयो । ‘बर्दिया पहिले कस्तो थियो र अहिले कस्तो भयो भन्ने ठोस मूल्यांकन गर्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘विकास निर्माणमा ठुलो परिवर्तन आएको छ । तर गलत ढङ्गले भ्रम छर्ने काम भयो र त्यसको परिणाम अहिले भोगिरहेका छौँ ।’
मुख्यमन्त्री आचार्यले निर्णय गर्दा सही र गलत छुट्याउन सक्नुपर्नेमा जोड दिँदै भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासोकी समस्या समाधानका लागि विगतमा सरकारले काम गरिरहेको भए पनि वर्तमान संघीय सरकारले ती कामलाई प्रभावित पार्ने ढङ्गले भूमिका खेलेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जन्मजय तिमिल्सिनाले समाज सुधारका लागि नैतिक शिक्षालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना बनाउने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्