जनता टाइम्स

३० बैशाख २०८३, बुधबार १२:०३

काग्रेसले खोज्यो प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थिति, रुलिङ गरेर प्रधामन्त्रीलाई सभामा ल्याउन सभामुखसँग माग


काठमाडौ‌ं, वैशाख ३० । नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थिति खोज्दै सभामुखसँग रुलिङ गरेर तत्काल संसदमा उपस्थित गराउन माग गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचीमा समेत प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेस सांसद निष्कल राईले प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थितिको विषय उठाउनुभएको हो ।

उहाँले आफ्नो संसदीय दलका नेताले अघिल्लो बैठकमै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी माग गरेको स्मरण गराउँदै संसदप्रति सरकारको जिम्मेवारीबोध आवश्यक रहेको बताउनुभयो । सांसद राईले प्रतिनिधि सभाको गरिमा कायम राख्ने प्रमुख जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै संसदको सम्मान जोगाउन सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।

‘सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सभामुखज्यूको हो । हजुर हाम्रो नायक पनि हो । तपाईँले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सभाको गरिमा बढाउन सक्दैन । त्यसैले तत्काल रुलिङ गरेर सभामा प्रधानमन्त्रीलाई बोलाउन अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो ।

उहाँले संसदमा सामान्य अवस्थामा न्यायाधीशमाथि छलफल गर्न नमिल्ने उल्लेख गर्दै सत्तारुढ दलकै सांसदले रोष्ट्रमबाट न्यायाधीशलाई ललकारेको भन्दै आलोचना गर्नुभयो । सांसद राईले संसदको रोष्ट्रम प्रयोग गरेर असंवैधानिक अभिव्यक्ति दिइँदा पनि सभामुख मौन बसेको भन्दै आपत्ति जनाउनुभयो ।