जनता टाइम्स

३० बैशाख २०८३, बुधबार १४:२०

बादलको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो


काठमाडौं, वैशाख ३० । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभा बैठकमा व्यक्त गर्नुभएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत रहेको भन्दै बादलले व्यक्त गर्नुभएको केही विषय संसद्को रेकर्डबाट हटाउन आज संसद् सचिवालयलाई रुलिङ गर्नुभएको हो ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेता बादलले रास्वपा को उदय, ‘जेनजी आन्दोलन’ का क्रममा देखिएका गतिविधि तथा नेपाली सेना को भूमिकामाथि प्रश्न उठाउनुभएको थियो । उहाँले ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ?’ भन्दै प्रश्न गर्नुभएको थियो ।

यस्तै, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेनाले सुकुम्वासी बस्तीमा किन परेड खेल्दैछ ?’ तथा ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति नीति तथा कार्यक्रम किन मौन छ ?’ भन्ने अभिव्यक्तिसमेत दिनुभएको थियो ।

सभामुख अर्यालले ती अभिव्यक्तिहरू संसदीय मर्यादा र नियमावलीविपरीत रहेको ठहर गर्दै अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो ।