काठमाडौं, वैशाख ३१ । नेकपा (एमाले)का नेता महेश बर्तौलाले प्रतिनिधिसभामा एमाले संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गरेको भनाइ संसदको रेकर्डबाट हटाउने सभामुखको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले साे निर्देशन दिए पछि आफ्नाे धारणा सार्वजनिक गर्दै बर्तौलाले सभामुखको उक्त निर्णयले संसदको लोकतान्त्रिक चरित्र, प्रतिपक्षको भूमिका, संसदीय अभ्यास, अभिव्यक्ति स्वतन्त्रता र सभामुखको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो । ‘संसदको लोकतान्त्रिक चरित्र, प्रतिपक्षको भूमिका , संसदीय अभ्यास, अभिव्यक्ति स्वतन्त्रता र सभामुखको निष्पक्ष र तटस्थ भूमिकामाथि गम्भीर प्रश्न उठाउने ठाउँ सिर्जना भएको छ’, उहाँले भन्नुभयाे ।
उहाँले एमाले संसदीय दलका नेता बादलले हिजोको प्रतिनिधिसभा बैठकमा राखेको धारणा रेकर्डबाट हटाउन सभामुखले दिएको रुलिङ ‘चयनमुखी’ देखिएको टिप्पणी गर्नुभयो । ‘संसदीय व्यवस्थामा प्रतिपक्षको मुख्य दायित्व सरकारलाई खबरदारी गर्ने, प्रश्न गर्ने, आलोचना गर्ने र जनताको आवाज उठाउने हो,’ बर्तौलाले भन्नु भएकाे छ ।
उहाँले प्रतिपक्षले सत्तापक्षलाई मनपर्ने कुरा मात्रै नभई सरकारका कमजोरीमाथि कठोर प्रश्नसमेत उठाउने भन्दै राजनीतिक दबाब वा सत्ताको चाहनाअनुसार सांसदका अभिव्यक्ति हटाइने अवस्था बने संसद खुला बहसको थलोभन्दा नियन्त्रणको संरचनातर्फ धकेलिने खतरा रहने बताउनुभयो ।
बर्तौलाले संसदको रेकर्डबाट कुनै अभिव्यक्ति हटाउँदा नियमावलीको कुन व्यवस्था अन्तर्गत कुन शब्द, वाक्य वा अभिव्यक्ति असंसदीय ठहरिएको हो भन्ने कुरा सभामुखले स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने धारणा राख्नुभयो । तर आजको रुलिङमा त्यो स्पष्टता पर्याप्त रूपमा नदेखिएको उहाँको दाबी छ ।
उहाँले संसदको गरिमा र मर्यादामाथि प्रत्यक्ष असर पर्ने सरकार र प्रधानमन्त्रीको व्यवहारप्रति कठोरता नदेखाइने तर प्रतिपक्षी सांसदका अभिव्यक्तिमाथि तत्काल रुलिङ गरिने प्रवृत्तिले सभामुखको साझा भूमिकामाथिको विश्वास कमजोर बनाएको टिप्पणी गर्नुभयो ।
बर्तौलाले संसद संवाद, असहमति र आलोचनाको साझा मञ्च भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रणको माध्यम बनाइए संसदीय अभ्यासमा द्वन्द्व र अविश्वास झन् गहिरिने जोखिम रहने चेतावनी दिनुभयो ।
उहाँले लोकतन्त्रको स्वास्थ्यका लागि संसदभित्र सरकारका कामकारबाहीप्रति खबरदारीपूर्ण आवाजलाई स्थान दिनु, नियमावलीको प्रयोग निष्पक्ष ढंगले गर्नु र सभामुखको भूमिकाप्रतिको विश्वसनीयता कायम राख्नु आवश्यक रहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्