काठमाडौं, वैशाख ३१ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री अनुपस्थित रहनुभएको भन्दै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बुधबार स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो ।
आजको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने उल्लेख गरिएको छ । कार्यसूचीमा प्रधानमन्त्रीको जवाफ समावेश गरिएसँगै उहाँ आजको बैठकमा उपस्थित हुनुहुन्छ कि हुनुहुन्न भन्ने विषय व्यापक चासो पैदा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । तर, राष्ट्रपति सम्बोधन सुरु हुनासाथ प्रधानमन्त्री शाह बैठक बहिष्कार गरेर बाहिरिनुभएको थियो । त्यसयता प्रधानमन्त्रीको भूमिकामाथि संसद्भित्र र बाहिर बहस चर्किएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलका लागि बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । प्रधानमन्त्री बैठकमा उपस्थित नभई अर्थमन्त्रीमार्फत प्रक्रिया अघि बढाउन खोजिएको भन्दै प्रतिपक्षी सांसदहरूले विरोध जनाएका थिए ।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेका छन् । यही विषयलाई लिएर बुधबार बैठक अवरुद्ध बनेको थियो ।
आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारीसमेत गरिएको छ । तर, प्रधानमन्त्री शाह बैठकमा उपस्थित हुनुहुन्छ वा पुनः अनुपस्थित रहनुहुन्छ भन्ने विषय अहिले मुख्य चासो बनेको छ ।













प्रतिक्रिया दिनुहोस्