काठमाडौं, बैशाख ३१ । नेकपा एमालेले बालेनतन्त्र विकास गर्न खोज्नुभएको हो भन्दै सदनमै कडा आक्रोश पोखरेको छ । एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सदनप्रति प्रधानमन्त्री र सरकार उत्तरदायी बन्न नसकेको भन्दै यस्तो आक्रोश पोख्नुभएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै महरले प्रधानमन्त्री बालेन शाहले संसद्लाई पटक पटक उपेक्षा गरेको तथा संसद्को अपमान गरेको आरोप लगाउनु भयो ।
‘यहाँ एउटा प्रश्न जबरजस्त रूपमा उठिरहेको छ, अहिलेको सरकारले कुन शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ ? संविधानमा व्यवस्था भएबमोजिमको शासन प्रणालीलाई अवलम्बन गरिरहेको हो कि अरू कुनै शासन प्रणाली, अरू कुनै तन्त्र विकास गरिरहेको हो ?, महरले भन्नुभयो, बजारमा एउटा कुरा छ प्रधानमन्त्री बालेन शाहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेनतन्त्र पो विकास गर्न खोज्नुभएको हो कि भन्ने एउटा आम प्रश्न र जिज्ञासा बनिरहेको छ ।’
यस्तै महरले सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गर्नेमा आशङ्का व्यक्त गर्नुभयो । सरकार संविधानको धारा ७६(१०) अनुसार संसद्प्रति पूर्ण रूपमा उत्तरदायी र जवाफदेही हुनुपर्ने सांसद महरले बताउनु भयो । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनताका प्रश्नको जवाफ दिनुपर्ने माग पनि उहाँले गर्नुभयो ।
प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने प्रतिपक्षको माग लोकतान्त्रिक, न्यायिक र कानुनसम्मत भएको महरको भनाई थियो । ‘कहिले राष्ट्रपतिको अपमान गर्ने, संसद्को अपमान गर्ने, जवाफ नदिने, यो कुराले संसद् र जनताका आवाजहरूलाई, जनताका समस्याहरूलाई सही ढङ्गले लैजान सकिन्छ ?’ महरको आक्रोयुक्त प्रश्न थियो । प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नआएपछि बिपक्षी दलका सांसदहरु आक्रोशित छन ।













प्रतिक्रिया दिनुहोस्