जनता टाइम्स

३१ बैशाख २०८३, बिहीबार २१:४८

प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको अवरोध, अर्थमन्त्रीले दिए नीति कार्यक्रमको उत्तर


काठमाडौं, वैशाख ३१ । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले नै दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा निरन्तर अवरोध सिर्जना गरे पनि सभामुख डिपी अर्याल पेलेर अघि बढ्नु भएकाे छ।

प्रधानमन्त्री बालेन्द्र शाहका सामु निरिह बनेकाे सत्तारुढ दल रास्वपा र सभामुखले  विपक्षीको चर्को विरोधका बीच संसद बैठक अघि बढाउँदै अर्थमन्त्री स्वर्णिम वाग्ले मार्फत जवाफ प्रस्तुत गरेको छ ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको उत्तर दिनुपर्ने अडान राख्दै आएका थिए । प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै विपक्षी सांसदहरूले बैठक अवरुद्ध गर्दै नाराबाजीसमेत गरेका थिए ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी सांसदहरूले उभिएर विरोध जनाएका थिए । उनीहरूले ‘प्रधानमन्त्री सदनमा आउनुपर्छ’, ‘जवाफ देऊ’ लगायतका नारासमेत लगाएका थिए ।

तर सभामुख डीपी अर्यालले विपक्षीको विरोधकै बीच आजकाे बैठकलाई अगाडि बढाउनुभयाे । सभामुखले पटक–पटक सांसदहरूलाई आफ्नो स्थानमा बस्न आग्रह गरे पनि विपक्षीले अवरोध जारी राखेका थिए ।

अवरोधकै बीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुभयाे । उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम वर्तमान आर्थिक चुनौती समाधान, विकास निर्माणको तीव्रता र सुशासनलाई केन्द्रमा राखेर ल्याइएको दाबी गर्नुभयो ।

संसदमा विपक्षीको निरन्तर अवरोध र सरकारको ‘पेलेरै अघि बढ्ने’ रणनीतिले राजनीतिक तनाव थप बढेको देखिएको छ । प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी आक्रामक बनेका बेला सरकारले भने संवैधानिक प्रक्रिया रोक्न नसकिने तर्क गर्दै संसद सञ्चालनलाई निरन्तरता दिएको छ ।