काठमाडौं, वैशाख ३१ । सभामुख डीपी अर्यालले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन नसकेको भन्दै तीन राजनीतिक दलले बिहीबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले निरन्तर दबाब दिँदै आएका थिए । तर सभामुख अर्यालले विपक्षीको मागलाई बेवास्ता गर्दै बैठकलाई पेलेरै अगाडि बढाएपछि असन्तुष्ट दलहरूले बैठक बहिष्कार गरेका हुन् ।
बैठक चलिरहेकै बेला विपक्षी दलका सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएका थिए । त्यसपछि नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक हल छोडेर बाहिरिएका हुन् ।
उता नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले भने बैठक हलभित्रै उभिएर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग दोहोर्याएका थिए ।
संसदमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सत्ता पक्ष र विपक्षीबीच तनाव बढ्दै गएको छ । विपक्षी दलहरूले संसदप्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाइरहेका छन् भने सत्ता पक्षले संवैधानिक प्रक्रिया अवरुद्ध गर्न नहुने अडान राख्दै बैठक सञ्चालनलाई निरन्तरता दिएको छ ।













प्रतिक्रिया दिनुहोस्