रामेछाप, जेठ १ । सबै तिर अनेक थरिका चित्र टाँगिएका थिए । परम्परागत हस्तकलाका सामाग्री पनि त्यतिकै थिए । कसैले कविता सुनाइरहेको थियो, कसैले गीत गाउँदै थियो ।
कतै बालबालिकाले अभिनयमार्फत परिवारको माया देखाइरहेका थिए भने कतै अभिभावकहरू आफ्ना नानीहरूको प्रतिभा हेर्दै भावुक बनेका थिए ।
रामेछाप बजारमा एक दिनका लागि बालबालिकाको हाँसो, सिकाइ र संस्कारले भरिएको एउटा खुला पाठशाला बनेको थियो ।
रामेछाप नगरपालिकाले आयोजना गरेको ‘प्रारम्भिक बाल विकास अभिभावक मेला’ केवल एउटा औपचारिक कार्यक्रम थिएन, त्यो बालबालिकाको भविष्यप्रति परिवार, विद्यालय र समाज सबैको साझा जिम्मेवारी सम्झाउने भावनात्मक अभियान बनेको थियो ।
बालबालिकाको प्रारम्भिक वृद्धि, व्यवहार, संस्कार र सिकाइमा परिवार तथा विद्यालयको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको मेलाले सहभागी धेरै अभिभावकको मन छोएको थियो ।
नगरपालिकाको शिक्षा शाखाका प्रमुख रामसिंह डडालका अनुसार कार्यक्रमको उद्देश्य बाल विकासलाई केवल विद्यालयको जिम्मेवारी नभई परिवार र समाजको साझा दायित्वका रूपमा बुझाउनु थियो ।

उहाँले भन्नुभयो, ‘बालबालिकाको जीवनको आधार प्रारम्भिक उमेरमै तयार हुन्छ । त्यसैले उनीहरूको वृद्धि र विकासमा घर, परिवार र विद्यालयबिचको सम्बन्ध कस्तो हुनुपर्छ भन्नेबारे सचेत गराउन मेला आयोजना गरिएको हो ।’
मेलामा रामेछाप नगरपालिका भित्रका ३४ वटा विद्यालय सहभागी थिए । विद्यालयहरूले प्रारम्भिक बाल विकाससँग सम्बन्धित शैक्षिक सामग्री, व्यवहारिक सिकाइका नमुना, खेलकुद सामग्री, सिर्जनात्मक चित्र र बालमैत्री अभ्यासहरू प्रदर्शनीमा राखेका थिए ।
सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहकार्यमा आयोजित कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाले समेत बालबालिकाको स्वास्थ्य, पोषण र मानसिक विकाससँग सम्बन्धित जानकारीमूलक सामग्री प्रस्तुत गरेको थियो ।
कार्यक्रममा बोल्दै वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले आधुनिकताको नाममा समाजले धेरै महत्त्वपूर्ण संस्कार बिर्सँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ गर्ने नाममा हामीले परम्परागत धेरै मूल्यवान् कुरा बिर्सिरहेका छौँ । यस्ता प्रदर्शनीले बालबालिकालाई आफ्ना संस्कार, संस्कृति र व्यवहार सिकाउन ठुलो सहयोग गर्छ ।’
उहाँले बालबालिकाको पहिलो पाठशाला घर नै भएको उल्लेख गर्दै परिवारले बालबालिकाको व्यवहार, संस्कार र आत्मविश्वास निर्माणमा सबैभन्दा ठुलो भूमिका खेल्ने स्पष्ट पार्नुभयो । ‘विद्यालयले पढाउन सक्छ, तर माया, संस्कार र जिम्मेवारी सिकाउने पहिलो ठाउँ परिवार हो,’ उहाँले भन्नुभयो ।

रामेछाप नगपालिका प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख बाला कार्की, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँ लगायत जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी धेरै अभिभावकले यस्तो मेला केवल कार्यक्रम नभई सिकाइको अवसर बनेको प्रतिक्रिया दिएका थिए । कतिपय अभिभावक आफ्ना छोराछोरीको प्रस्तुति हेरेर गर्वले भरिएका देखिन्थे । कतिले भने बालबालिकासँग बिताउने समय कम हुँदै गएको स्विकार्दै आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको बताए ।
कार्यक्रममा बोल्दै नगर बाल क्लब सञ्जालकी अध्यक्ष प्रीति तामाङले बालबालिकाले घर, समाज र विद्यालयबाट नै संस्कार तथा व्यवहार सिक्ने भएकाले सबै संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले बालबालिकाको अर्थपूर्ण सहभागिता विकास गर्ने र उनीहरूको प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने बताउनुभयो ।
‘बालबालिकालाई सुन्ने, बुझ्ने र अवसर दिने वातावरण आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘उनीहरूलाई केवल पढाइमा होइन, व्यवहार, आत्मविश्वास र सृजनशीलतामा पनि अघि बढाउनुपर्छ ।’

रामेछापमा आयोजित यो अभिभावक मेला एउटा दिनको कार्यक्रम मात्रै थिएन । यसले एउटा गहिरो सन्देश छाडेको छ- बालबालिकाको भविष्य केवल विद्यालयको जिम्मेवारी होइन, त्यो परिवार, समाज र राज्य सबैको साझा दायित्व हो ।
आजको व्यस्त जीवनशैलीमा अभिभावक र बालबालिकाबिच संवाद कम हुँदै गएको बेला यस्तो कार्यक्रमले फेरि परिवारभित्र माया, समय र संस्कारको महत्त्व सम्झाइदिएको धेरै सहभागीको अनुभव थियो ।
सायद यही कारण कार्यक्रममा धेरै अभिभावक बालबालिकाको हात समातेर प्रदर्शनी हेर्दै थिए । कतै हाँसो थियो, कतै गर्व, कतै भावुकता । किनकि त्यो मेला केवल बाल विकासको कार्यक्रम थिएन, त्यो भविष्य राम्रो बनाउन अहिले नै जिम्मेवार बन्नुपर्ने चेतावनी पनि थियो ।













प्रतिक्रिया दिनुहोस्