जनता टाइम्स

१ जेष्ठ २०८३, शुक्रबार १२:३४

बालेन सरकार सुधन गुरुङ चोख्याउने खेलमा लागेको कांग्रेसको आशंका


काठमाडौं, जेठ १ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको आशंका गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गर्नुभएको हो । आङदेम्बेले भन्नुभयो, ‘समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस् ।’

उहाँले गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । समिति गठनलाई सकारात्मक कदम भन्दै आङ्देम्बेले समितिको निष्पक्षतामै यसको विश्वसनीयता निर्भर रहने उल्लेख गर्नुभयो । समितिले राजनीतिक प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने आङदेम्बेको भनाइ छ ।

पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिनुभएको थियो । सार्वजनिक रूपमा प्रश्न उठेपछि गुरुङले गत ९ वैशाखमा नैतिकताको आधार देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो।

प्रधानमन्त्री बालेन साहले सुधनको राजीनामापछि आफैले सो मन्त्रालय राखी सुधनले नै नियुक्त गर्नुभएका पिए मार्फत चलाउदै आउनुभएको छ

राजीनामा दिएको तीन साता बितेपछि सरकारले छानबिन समिति गठन गरेको छ । सरकारले बिहीबार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको घोषणा गरेको छ ।