जनता टाइम्स

३ जेष्ठ २०८३, आईतवार ०७:२४

मदन–आश्रितको योगदान  कम्युनिष्ट आन्दोलनका लागि ‘दीपस्तम्भझैँ : केपी शर्मा ओली 


काठमाडौं, जेठ ३। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा उहाँहरूको योगदान नेपाली कम्युनिष्ट आन्दोलनका लागि ‘दीपस्तम्भझैँ’ रहेको बताउनुभएको छ ।

आइतबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै एमाले अध्यक्ष ओलीले ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको स्मरण गर्नुभएको हो । उहाँले समय बित्दै जाँदा घाउ पुराना भए पनि पीडाका स्मृति झन् गाढा हुँदै गएको उल्लेख गर्नुभयो ।

ओलीले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा भएको उल्लेख गर्दै उहाँले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने ‘जनताको बहुदलीय जनवाद’ निर्माणको अगुवाइ गरेको बताउनुभयो । उहाँले जनताको बहुदलीय जनवादले आन्दोलनलाई युगअनुकूल मौलिक परिष्कार दिएको, परिवर्तनको सपना जनताको जीवनमा पुर्‍याउने मार्गचित्र तयार गरेको र त्यसैलाई एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासँग जोडेर अघि बढाएको धारणा राख्नुभयो ।

उहाँले पछिल्लो दशकमा उक्त अभियानले मानवीय तथा भौतिक पूर्वाधार विकासमा परिवर्तन ल्याउन थालेको पनि उल्लेख गर्नुभयो ।

सन्देशमा ओलीले मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनले जन्माएका अन्य अग्रज र योद्धाहरू शारीरिक रूपमा अहिले आफूहरूमाझ नभए पनि उहाँहरूको विचार र योगदान राजनीतिक यात्रामा मार्गदर्शक बनेर रहेको बताउनुभएको छ ।

उहाँले जनताको बहुदलीय जनवाद कुनै ‘एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार’ नभई यथार्थको धरातलमा आधारित विचार भएको उल्लेख गर्दै त्यसको वैचारिक विरासतले जनताको पक्षमा दृढतापूर्वक उभिन र परिवर्तनको यात्रालाई निरन्तर अघि बढाउन प्रेरणा दिइरहेको बताउनुभयो ।

ओलीले ‘प्रिय मदन–आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान !’ भन्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।