जनता टाइम्स

३ जेष्ठ २०८३, आईतवार ०७:४५

मदन भण्डारीले देखाएको जनमुखी राजनीति आज पनि सान्दर्भिक : विद्यादेवी भण्डारी  


काठमाडौं , जेठ ३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदनकुमार भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

उहाँले नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक तथा ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितकाे ३३औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउन अभूतपूर्व योगदान दिएको उल्लेख गर्नुभएको छ ।

भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद’ ले लोकतान्त्रिक माध्यममार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गरेको तथा नेकपा एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका खेलेको बताउनुभयो ।

उहाँले विगतका उपलब्धिसँगै वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । अहिले देखिएका चुनौतीको सामना गर्न सुदृढ सांगठनिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको उहाँको भनाइ छ ।

भण्डारीले जनअपेक्षा र सुधारप्रतिको चाहनालाई सम्बोधन गर्दै पार्टी र जनताबीचको सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ । सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास आवश्यक रहेको पनि उहाँले बताउनुभएको छ ।