काठमाडौँ, जेठ ३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेभित्र जनतासँगको सम्बन्ध कमजोर हुँदै जाँदा पार्टीले निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गर्नुभएको छ । उहाँले पार्टीभित्र आत्मसमीक्षा र कार्यशैली परिवर्तनको आवश्यकता औँल्याउँदै जनतामुखी राजनीति पुनः स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विगतको निर्वाचन परिणामलाई सामान्य रूपमा लिन नहुने बताउनुभयो । उहाँले जनतासँग प्रत्यक्ष जोडिएका कार्यकर्ताभन्दा संगठनभित्र सीमित र जनजीवनबाट टाढिएका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय बेहोरेको उल्लेख गर्नुभयो ।
उहाँले एमाले सत्तामुखी हुँदै जाँदा जनताको बहुदलीय जनवाद (जबज) को मूल मर्म कार्यान्वयनमा समस्या देखिएको धारणा राख्नुभयो । उहाँले जनताको बहुदलीय जनवाद केवल कार्यक्रम नभई एमालेको मार्गदर्शक सिद्धान्त भएको दोहोर्याउँदै पार्टीभित्र यस विषयमा लामो वैचारिक बहस भएको स्मरण गर्नुभयो ।
जनताभन्दा सत्ता केन्द्रित राजनीति बलियो बन्दै जाँदा पार्टी क्रमशः कमजोर बन्दै गएको उहाँको निष्कर्ष थियो । अहिलेको चुनौती भनेको पार्टीलाई पुनः जनताबीच स्थापित गर्नु रहेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले पार्टीले अब जनतासँग घुलमिल हुने, समाजका वास्तविक समस्या बुझ्ने र जनभावनालाई प्रतिनिधित्व गर्ने खालका कार्यकर्ता तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले राजनीतिक संगठन केवल चुनावी संरचनामा सीमित हुन नहुने भन्दै सामाजिक रूपान्तरणको उद्देश्य बोकेको आन्दोलनका रूपमा एमाले अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

युवापुस्ताको भूमिकाबारे चर्चा गर्दै उहाँले पपुलिज्मको प्रभाव बढिरहेका बेला वैचारिक स्पष्टता भएका युवाशक्ति आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार वैचारिक आधारविनाको युवा राजनीति अन्ततः पूँजीवादी संरचनाको रक्षामै सीमित हुने भएकाले समाजवादको लक्ष्य प्राप्त गर्न विचारप्रधान आन्दोलन अपरिहार्य छ ।
सूचना प्रविधि र डिजिटल संस्कृतिले युवामाझ नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गर्दै उहाँले ‘गेमिङ प्रोजेक्ट’ जस्ता प्रवृत्तिबाट युवालाई सिर्जनात्मक र वैचारिक दिशातर्फ मोड्नुपर्ने बताउनुभयो । प्रविधिकै माध्यमबाट मार्क्सवाद, अतिरिक्त मूल्यको सिद्धान्त र समाजवादी दृष्टिकोणबारे नयाँ पुस्तामाझ बहस विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।
महासचिव पोखरेलले पछिल्ला वर्षहरूमा मुलुकको आर्थिक अवस्था पनि चिन्ताजनक बन्दै गएको टिप्पणी गर्नुभयो । बैङ्कमा लगानीयोग्य पुँजी थुप्रिने, उत्पादनमूलक क्षेत्रमा लगानी घट्ने र युवाहरू विदेश पलायन हुने अवस्था बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । सुनमा लगानी गर्ने प्रवृत्ति बढ्नु उत्पादनमुखी अर्थतन्त्रको सङ्केत नभएको उहाँको तर्क थियो ।
सरकारका प्रारम्भिक गतिविधिप्रति पनि उहाँले असन्तुष्टि जनाउनुभयो । विशेष गरी सुकुम्वासी बस्ती हटाउने कार्यले थप आर्थिक र सामाजिक समस्या निम्त्याउने तथा बेरोजगारी र पलायन बढाउने खतरा रहेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले ‘जेनजी आन्दोलन’प्रति एमालेले लिएको दृष्टिकोणप्रति जनताले पूर्ण विश्वास नगरेको स्वीकार गर्नुभयो । उहाँले त्यसको असर पनि पछिल्लो निर्वाचन परिणाममा देखिएको धारणा राख्नुभयो ।













प्रतिक्रिया दिनुहोस्