जनता टाइम्स

३ जेष्ठ २०८३, आईतवार २०:२५

राष्ट्रिय शक्तिले हेडलाइन होइन, देशको दिशा तय गर्नुपर्छ : गगन थापा


काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति बनेका राजनीतिक दलले क्षणिक लाभ–हानि र दैनिक राजनीतिक प्रतिक्रियाका आधारमा निर्णय लिन नहुने बताउनुभएको छ । उहाँले नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिलाई पछ्याउने होइन, दिशा दिने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रजातान्त्रिक विचार समाजको ३१ औँ स्थापना दिवसका अवसरमा आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले निर्वाचनको परिणामले मात्रै कुनै दलको राष्ट्रिय हैसियत निर्धारण नहुने स्पष्ट पार्नुभयो ।

उहाँले नेपाली कांग्रेस चुनाव जित्दा, हार्दा वा चुनावमा सहभागी नभए पनि राष्ट्रिय शक्ति नै रहने उल्लेख गर्दै राष्ट्रिय दलले हेडलाइनको पछि लागेर निर्णय गर्ने प्रवृत्तिबाट टाढा रहनुपर्ने बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय राजनीतिमा उठेका विषयमा केवल प्रतिक्रिया दिने होइन, मुलुकलाई मार्गदर्शन गर्ने भूमिका कांग्रेसले निर्वाह गर्नुपर्छ ।

थापाले निर्वाचित सरकारसँग अधिकार हुने भए पनि संविधानले त्यसको स्पष्ट सीमा निर्धारण गरेको उल्लेख गर्नुभयो । सरकारलाई कानुन निर्माण गर्ने अधिकार भए पनि त्यो अधिकार संविधानको मर्म, उद्देश्य र सीमाभित्र रहनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले नेपाली कांग्रेसलाई संगठनभित्र सीमित राख्नेभन्दा समाजमुखी बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । पार्टीलाई समाजको सेवा र जनजीवनसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कांग्रेसलाई पुनः जनताबीच सक्रिय बनाउने अभियानमा आफू केन्द्रित रहेको धारणा राख्नुभयो ।

पार्टीभित्रका आन्तरिक विषयहरू पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै थापाले त्यसमा समानान्तर रूपमा काम गरिने बताउनुभयो । उहाँले १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको ठूलो पंक्ति अहिले सक्रिय भूमिकाभन्दा बाहिर रहेको भन्दै इच्छुक सबैलाई सम्मानजनक जिम्मेवारीसहित पुनः सक्रिय बनाउने प्रस्ताव अघि सार्नुभयो । वरिष्ठ नेता बनाउनुपर्ने व्यक्तिलाई वरिष्ठ नेताको भूमिका दिने तथा अन्य नेताहरूलाई पनि उपयुक्त जिम्मेवारी प्रदान गरेर सबैलाई साथमा लिएर अघि बढ्ने उहाँको प्रतिबद्धता थियो ।