काठमाडौं, जेठ ३ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, संवैधानिक संस्थाको गरिमा र सामाजिक न्यायमाथि प्रहार गर्दै अधिनायकवादी दिशातर्फ अघि बढ्न खोजेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित ३३औँ मदन–आश्रित स्मृति दिवस तथा ‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक विमर्श कार्यक्रममा बोल्दै ज्ञवालीले सरकार गठन भएको छोटो अवधिमै सार्वजनिक भएका गतिविधि र निर्णयहरूले आगामी राजनीतिक दिशाको संकेत देखाइसकेको बताउनुभयो ।
उहाँले सरकार लोकतान्त्रिक अभ्यासभन्दा नियन्त्रणमुखी शैलीतर्फ उन्मुख भएको टिप्पणी गर्दै सुरुआती कदमहरूले नै शासनको चरित्र प्रष्ट पार्ने धारणा राख्नुभयो । “दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बादलले देखाइसकेको हुन्छ,” भन्दै उहाँले सरकारको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।
ज्ञवालीले ट्रेड युनियन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जस्ता संस्थामाथि हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार श्रमिक, विद्यार्थी तथा निम्नवर्गीय नागरिकका अधिकार क्रमशः सीमित बनाउने प्रयास भइरहेको छ ।
उहाँले संसद, राष्ट्रपति र न्यायालयजस्ता संवैधानिक तथा निर्वाचित संस्थाहरूको भूमिकालाई कमजोर पार्ने प्रयास भइरहेको आरोप पनि लगाउनुभयो । लोकतान्त्रिक संस्थाहरूको अवमूल्यन हुँदै गए मुलुक निर्वाचित अधिनायकवादतर्फ जान सक्ने खतरा बढ्ने उहाँको चेतावनी थियो ।
सुकुम्वासी बस्तीमाथि भइरहेको डोजर अभियान, सामाजिक सुरक्षासम्बन्धी व्यवस्थामा कटौती तथा अध्यादेशको प्रयोगलाई उहाँले लोकतान्त्रिक मूल्यमाथिको आक्रमणका रूपमा व्याख्या गर्नुभयो ।
उहाँले वर्तमान परिस्थितिमा बलियो लोकतान्त्रिक प्रतिपक्षको आवश्यकता झन् बढेको उल्लेख गर्दै संसदमा संख्यात्मक रूपमा कमजोर भए पनि जनताको समर्थन र सामाजिक–राजनीतिक शक्तिहरूको सहकार्यबाट लोकतान्त्रिक मूल्यको रक्षा गर्न सकिने बताउनुभयो ।
लोकतन्त्र, संविधान र सामाजिक न्यायको रक्षा अहिलेको सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गर्दै ज्ञवालीले लामो संघर्षबाट प्राप्त उपलब्धि जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले मदन आश्रित स्मृति प्रतिष्ठानको भूमिका केवल सहकार्य र वैचारिक सहयोगमा सीमित नरहेको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनलाई समाजका विभिन्न तहबाट अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
युवापुस्तालाई लोकतन्त्र, सामाजिक न्याय र जनअधिकारको पक्षमा सक्रिय हुन आग्रह गर्दै उहाँले वर्तमान चुनौती सामना गर्न राजनीतिक चेतना र संगठित प्रयास अपरिहार्य रहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्