जनता टाइम्स

३० मंसिर २०७६, सोमबार ०७:५१

जनकपुरमा भेटिएको बम केहीबेरमा डिस्पोज गरिदै


जनकपुर, मंसिर ३० गते । धनुषाको जनकपुरस्थित संकटमोचन देखी बागवानी तर्फ जाने बाटोको पर्खालमाथि हिजोराति राखिएको प्रेसर कुकर बमलाई स्थानीय प्रशासनले डिस्पोजको तयारी थालेको छ । डिस्पोजको लागि बम राखिएको स्थानतर्फ नेपाली सेनाको डिस्पोज टोली केहीबेरमा पुग्ने तयारी धनुषास्थित नेपाली सेनाको छ ।

बम भेटिएको स्थानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातिदेखि नै सुरक्षा घेरामा राखेका छन् । सो स्थानको बासिन्दालाई राति नै सुरक्षित तरिकाले खाली गराई सो क्षेत्रको विद्युत प्रशारण बन्द गरिएको धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनुभयो । कणेलका अनुसार करिब ५ लिटरको राइस कुकरमा बनाइएको बम जस्तो देखिने बस्तु डिस्पोज नहुञ्जेल सो क्षेत्रको आवागमन बन्द रहनेछ ।

रातिको करिब १०:३० बजेतिर सुत्ने बेला सो बस्तु भेटिएपछि स्थानीयहरु त्रसित भई प्रहरीलाई खवर गरेका थिए । जनकपुरको बाह्रविगहा रंगभूमिमा पुस ३ गते एनसेल कम्पनीले आयोजना गर्न लागेको मेलाको विरोधमा विप्लवले बम राखेको हुन सक्ने स्थानीय संचारकर्मीहरुले अनुमान लगाइरहेको छ ।

धनुषाको महेन्द्रनगरस्थित क्षिरेश्वरनाथमा शुक्रवार राति बम बिस्फोट हुँदा ईलाका प्रहरी कार्यालय, महेन्द्रनगरका प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको थियो ।