जनता टाइम्स

४ जेष्ठ २०८३, सोमबार ०७:५०

विचार र गन्तव्य नभएकाे पार्टी चल्दैन : माधव ढुंगेल 


रामेछाप, जेठ ४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य माधव ढुंगेलले विचार, दर्शन र स्पष्ट राजनीतिक गन्तव्यबिनाको पार्टी सफल हुन नसक्ने बताउनुभएको छ ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संसारमा विचारबिनाको राजनीतिक दल बन्न नसक्ने धारणा राख्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीकाे बिचार नै नभएकाेले राजनीतिक दल बन्न नसकेकाे बताउनुभयाे ।

उहाँले राजनीतिक पार्टी कुनै व्यक्तिको इच्छाले नभई दर्शन र सिद्धान्तले चल्ने उल्लेख गर्दै कुन विचार र कस्तो गन्तव्यका साथ अघि बढ्ने भन्ने स्पष्टता आवश्यक रहेको बताउनुभयो । ‘दर्शनभन्दा बाहिर पार्टी चल्दैन, पार्टी दर्शनले नै चल्ने हो,’ उहाँले भन्नुभयो, ‘कुन विचार हो र गन्तव्य के हो भन्ने स्पष्ट हुनुपर्छ ।’

उहाँले सूचना, दिशा र स्पष्ट उद्देश्यबिनाको राजनीति सफल हुन नसक्ने उल्लेख गर्दै विचारलाई नै सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो ।

केन्द्रीय सदस्य ढुंगेलले निर्वाचनको एउटा परिणामलाई अन्तिम सत्य ठान्न नहुने पनि बताउनुभयो । उहाँले एकपटकको निर्वाचन परिणामले एउटा दललाई दण्डित गरेजस्तै अर्को निर्वाचनमा अर्को दललाई पनि जनताले दण्डित गर्न सक्ने धारणा राख्नुभयो ।

उहाँले राजनीतिक दलहरूले अस्थायी सफलता वा असफलताभन्दा माथि उठेर वैचारिक स्पष्टता, जनविश्वास र दीर्घकालीन राजनीतिक लक्ष्यमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।