काठमाडौं, जेठ ४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बसिरहेको हो ।
११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन टुङ्गो नलागेको अवस्थामा बसेको सचिवालय बैठकको मुख्य एजेण्डा जिम्मेवारी बाँडफाँटमा केन्द्रित रहेको नेताहरूले बताएका छन् ।
पार्टीका एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिकास्तरसम्म जिम्मेवारी दिएर पठाउने तयारी गरिएको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रत्येक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाइने र संगठन सुदृढीकरणमा सक्रिय बनाइने तयारी रहेको बताइएको छ ।

यससँगै पार्टीका केन्द्रीय विभाग तथा विभिन्न निकायमा समेत जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरिएको छ । लामो समयदेखि रोकिएको कार्यविभाजनलाई व्यवस्थित गरेर संगठनलाई चुनावकेन्द्रित बनाउने रणनीतिमा एमाले नेतृत्व देखिएको छ ।
आजको बैठकले फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठक बोलाउने मिति समेत तय गर्ने तयारी गरेको छ ।
त्यस्तै बैठकमा सरकारले हटाएका सुकुम्बासी बस्ती, उनीहरूको व्यवस्थापनको अवस्था तथा सरकारका पछिल्ला गतिविधिबारे पनि छलफल हुने बताइएको छ । एमालेले यस विषयलाई राजनीतिक र सामाजिक संवेदनशीलताको मुद्दाका रूपमा उठाउँदै आएको छ ।













प्रतिक्रिया दिनुहोस्