जनता टाइम्स

४ जेष्ठ २०८३, सोमबार १८:०८

एमाले सचिवालय बैठक : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः एमाले सदस्यता दिने निर्णय


काठमाडौं, जेठ ४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गरेको छ ।

सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

यसअघि भण्डारीको सदस्यता नवीकरणको विषयलाई लिएर एमालेभित्र विवाद उत्पन्न भएको थियो । नवीकरण प्रक्रिया अघि बढे पनि त्यसलाई वैधानिकता नदिएको भन्दै एमाले केन्द्रीय कमिटी र सचिवालय बैठकले सदस्यता नदिने निर्णय गरेको थियो ।

पार्टीको पछिल्लो निर्णयसँगै पूर्वराष्ट्रपति भण्डारी औपचारिक रूपमा पुनः एमालेको संगठनात्मक संरचनामा फर्किनुभएको छ । उहाँको सक्रिय राजनीतिक भूमिकाबारे पछिल्लो समय एमालेभित्र र बाहिर चर्चा हुँदै आएको छ ।

एमालेको यो निर्णयलाई आगामी राजनीतिक समीकरण, पार्टीभित्रको शक्ति सन्तुलन तथा नेतृत्व व्यवस्थापनसँग जोडेर समेत हेरिएको छ ।