जनता टाइम्स

५ जेष्ठ २०८३, मंगलवार ०९:४०

रामेछापका दुर्गम गाउँमा पनि आयुर्वेद प्रति बढ्दाे विश्वास : बिरामीहरु आयुर्वेदिक उपचार तर्फ आकर्षित


रामेछाप, जेठ ५ । वाग्मती प्रदेश अन्तर्गतकाे रामेछापका दुर्गम बस्तीहरूमा पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकहरूको आकर्षण उल्लेख्य रूपमा बढ्न थालेको छ । आधुनिक चिकित्सा सेवासँगै स्थानीय नागरिकले आयुर्वेदिक उपचारमा पनि भरोसा गर्न थालेपछि रामेछापका स्वास्थ्य शिविरहरूमा नयाँ दृश्य देखिन थालेको छ ।

जनस्वास्थ्य कार्यालय रामेछापले जिल्लाको दुर्गम उमाकुण्ड गाउँपालिका अन्तर्गत बाम्ती र प्रीतिमा सञ्चालन गरेको एकीकृत जनस्वास्थ्य शिविरमा धेरै सेवाग्राहीले आयुर्वेदिक सेवा लिएका छन् ।

जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाका अनुसार प्रीति अस्पतालमा आयोजित शिविरमा मूल दर्ता भएका ४ सय ९४ सेवाग्राहीमध्ये २ सय २० जनाले आयुर्वेदिक उपचार सेवा रोजेका थिए । त्यहाँ एलोपेथिकतर्फ सामान्य स्वास्थ्य जाँच गराउनेको संख्या १ सय ३६ थियो ।

उक्त शिविरमा १ सय १५ जनाले दन्त सेवा, १ सय २५ जनाले हाडजोर्नी, १ सय १० जनाले स्त्री तथा प्रसूति रोग, १ सय ८४ जनाले आँखा, १ सय २ जनाले युएसजी तथा २८ जनाले ल्याब र ४६ जनाले बाल राेग विशेज्ञ सेवा लिएका थिए ।

यस्तै बाम्ती स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा ३ सय ६२ जनाले सेवा लिएकामध्ये २ सय ५५ जनाले आयुर्वेदिक उपचार रोजेका थिए । जनरल जाँचतर्फ ९५ जनाले सेवा लिएका थिए भने १५ जनाले बालरोग, ६० जनाले दन्त, ७५ जनाले हाडजोर्नी, ७० जनाले स्त्रीरोग, १ सय १८ जनाले आँखा, ३४ जनाले ल्याब, ८५ जनाले भिएसजी, २५ जनाले भिआइए तथा ६ जनाले एक्स–रे सेवा लिएका थिए ।

दुर्गम गाउँमा आयुर्वेदिक उपचारप्रति बढ्दो आकर्षणलाई स्वास्थ्यकर्मीहरूले सकारात्मक परिवर्तनका रूपमा लिएका छन् । पछिल्लो समय जिल्लामा आयुर्वेदिक उपचार पद्धति, जडीबुटीजन्य औषधि र यसको प्रभावकारिताबारे प्रचार–प्रसार भएपछि नागरिकमा यसको विश्वास बढ्दै गएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गाउँगाउँमा पुगेर स्वास्थ्य शिविर, घरदैलो कार्यक्रम तथा सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । त्यसकै प्रभावस्वरूप अहिले स्थानीय नागरिकले आधुनिक औषधिसँगै आयुर्वेदिक उपचारलाई पनि भरपर्दो विकल्पका रूपमा लिन थालेका छन् ।

विशेषगरी दुर्गम क्षेत्रमा दीर्घकालीन उपचारमा प्रभावकारिता तथा जडीबुटीप्रतिको विश्वासका कारण आयुर्वेदिक सेवाप्रति आकर्षण बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । रामेछापका गाउँहरूमा देखिएको यो परिवर्तनले परम्परागत उपचार प्रणालीप्रति नागरिकको विश्वास पुनर्जीवित हुँदै गएको संकेत गरेको छ ।