जनता टाइम्स

५ जेष्ठ २०८३, मंगलवार १६:३०

नयाँको नाममा सबै परम्परा भत्काउने हो भने प्रधानमन्त्री पद पनि भत्काउँ, सिंहदरबार पनि भत्काऔँ : अमरेश सिंह


काठमाडौं, जेठ ५ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आफ्नै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसदीय परम्परा कमजोर बनाउने गतिविधि भइरहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभामा प्रि–बजेट छलफलका क्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सिंहले अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको विषयमा आपत्ति जनाउनुभएको हो । उहाँले पाँचौँ पटक सांसद हुँदा पहिलोपटक अर्थमन्त्रीबिनै बजेटको प्राथमिकतामाथि छलफल भइरहेको देखेको बताउनुभयो । ‘पाँचौँ पटक सांसद हुँदा पहिलोपटक नयाँ कुरा देख्दैछु । अर्थमन्त्री नै नभईकन बजेटको प्राथमिकतामाथि छलफल भइरहेको छ । यो कस्तो परम्पराको सुरुआत हुँदैछ ? नयाँको नाममा सबै कुरा भत्काउने होइन,’ उहाँले भन्नुभयो ।

उहाँले व्यंग्यात्मक शैलीमा ‘त्यसो भए सिंहदरबार पनि भत्काऔF, प्रधानमन्त्री पद पनि भत्काऔं, मन्त्री पनि भत्काऔं, सबै चिज परिवर्तन गरौँ न’ भन्दै सरकारको शैलीप्रति कटाक्ष गर्नुभयो ।

सांसद सिंहले संसदीय परम्पराअनुसार सबै सांसदको भूमिका बराबर हुने र संसदमा उठाइने प्रश्नको जवाफ सरकारबाट आउनुपर्ने धारणा राख्नुभयो । ‘सबैकुरा औचित्यपूर्ण हुनुपर्छ । अर्थमन्त्रीले एक्लैले बजेट बनाउने होइन, टिमले बनाउने हो । उहाँले नीतिगत रूपमा मार्गदर्शन गर्ने हो,’ उहाँले भन्नुभयो ।