जनता टाइम्स

५ जेष्ठ २०८३, मंगलवार १६:४३

‘न्याय खोज्दा अदालतमै अवरोध’ : सर्वोच्च प्रशासनविरुद्ध बारको लालटिन प्रदर्शन


काठमाडौं, जेठ ५ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको बताउँदै लालटिन बालेर विरोध प्रदर्शन गरेको छ ।

संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी अदालत प्रशासनले न्यायमार्ग अवरुद्ध गरेको भन्दै बार आन्दोलनमा उत्रिएको हो । बार प्राङ्गणमा आयोजित प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरूले ‘न्यायको खोजी’, ‘स्वच्छ प्रक्रियाको खोजी’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

बारका अध्यक्ष विजयप्रसाद मिश्रले सबैका लागि खुला हुनुपर्ने अदालतभित्रै मुद्दा दर्ता नगर्ने, अल्झाएर राख्ने र न्याय प्रक्रियालाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै त्यसको सधैँ विरोध गरिने बताउनुभयो ।उहाँले न्यायको अन्तिम आशा मानिने सर्वोच्च अदालतभित्रै निवेदन दर्तामा अवरोध हुनु गम्भीर विषय भएको उल्लेख गर्नुभयो ।

बारका अनुसार पछिल्लो समय संवैधानिक महत्वका विभिन्न रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दर्ता नगरी फर्काइएका छन् । ती निर्णयविरुद्ध परेका निवेदनसमेत लामो समयसम्म दर्ता नगरी राखिएको भन्दै बारले त्यसलाई न्यायमार्गमा अवरोध सिर्जना गर्ने गतिविधिका रूपमा व्याख्या गरेको छ ।

यसैबीच अदालतमा विचाराधीन विषयमा संसदमा छलफल भएकोप्रति पनि बारले आपत्ति जनाएको छ । संविधानले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न रोक लगाएको अवस्थामा त्यसको बेवास्ता गरिएको भन्दै बारले असन्तुष्टि जनाएको हो ।