जनता टाइम्स

६ जेष्ठ २०८३, बुधबार ११:३५

आज पनि संसदमा श्रम संस्कृति पार्टीको विरोध प्रदर्शन, सभामुखद्वारा कारबाहीको चेतावनी


काठमाडौं, जेठ ६ । श्रम संस्कृति पार्टी का सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठकमा विरोध प्रदर्शन गरेका छन्।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ पार्टीका अध्यक्ष हर्क साम्पाङ सहित पार्टीका सांसदहरू उठेर प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका हुन्। त्यसपछि उनीहरूले पालैपालो प्लेकार्डमा लेखिएका नारासमेत पढेर सुनाएका थिए।

सदनमा गरिएको प्रदर्शनलाई ‘अमर्यादित र अभद्र’ भएको भन्दै सभामुख डीपी अर्याल ले सांसदहरूलाई कारबाहीको चेतावनी दिनुभएको थियो।

सभामुखको चेतावनीपछि पनि विरोध जारी रहेपछि पार्टीका संसदीय दलका नेता हर्कराज राई साम्पाङ बोल्नका लागि उठ्नुभएको थियो। त्यसपछि सभामुखले उहाँलाई समय दिनुभएको थियो।

राईले आफूहरूसँग जनताका प्रश्नहरू रहेको भन्दै ती प्रश्नको जवाफ नआएसम्म विरोध जारी रहने बताउनुभयो। ‘जनताका आवाज दबाउने प्रयास नगर्नुस्,’ उहाँले सदनमा भन्नुभयो।

श्रम संस्कृति पार्टीले पछिल्ला केही दिनदेखि विभिन्न माग राख्दै संसदमा निरन्तर विरोध जनाउँदै आएको छ।